• २६ पुस २०८२, शनिबार

रेमिट्यान्सको ऐतिहासिक उचाइसँगै अर्थतन्त्र सुदृढ बन्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २६ गते । नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै आठ खर्ब ७० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ४.७ प्रतिशत मात्र रहेको थियो । गत वर्षको सोही महिनामा यो रकम एक खर्ब १८ अर्ब ७९ करोड रुपियाँ थियो । एक वर्षमै करिब ५४ अर्ब रुपियाँले मासिक रेमिट्यान्स बढेको छ ।

रेमिट्यान्सको तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति सुदृढ, बैङ्किङ प्रणालीमा तरलता सहज र आयात भुक्तानी क्षमता मजबुत बन्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको चालु आव २०८२/८३ को पाँच महिना (२०८२ मङ्सिरसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपियाँ रहेको छ ।

अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चिति १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ५४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ती अर्ब ५० करोड रहेको थियो ।

यसै गरी समीक्षा अवधिमा सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) छ अर्ब तीन करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ९८ करोडले बचतमा रहेको छ ।

निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन चार खर्ब छ अर्ब ३० करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ । बैङ्क तथा वित्तीय संस्थाबिचको भारित औसत अन्तरबैङ्क दर २.७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ ।