• २६ पुस २०८२, शनिबार

हुम्ला–काठमाडौँ बस सेवा सुरु, भाडा सस्तियो

blog

नेपालगञ्जका लागि छुट्ने तयारीको बस सिमकोट बजारमा । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, पुस २ गते ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालनमा आउदा भाडादर सस्तिएको छ । यसअघि बोलेरो जिप मात्र सञ्चालन हुँदा भाडादर मनपरी लिने गर्दा यात्रुहरुले चर्को भाडा तिर्नु पर्ने बाध्यता रहेको थियो । यद्यपी, अब सो अवस्था हटेको छ ।

हुम्लाबाट काठमाडौँसम्म बस सेवा सञ्चालनमा आएसँगै भाडादर सस्तिएको यात्रु धर्मराज रोकायाले बताउनुभयो । सिमकोटबाट नेपालगञ्ज बसमा यात्रा गर्दा दुई दिन लाग्ने र भाडादर पाँच हजार पाँच सय रुपियाँ लिने गरिएको उहाँले बताउनुभयो ।

केही दिन अघि बोलेरो जिप रिजर्भ गर्दा सिमकोटबाट नेपालगञ्ज यात्रा गर्दा पाँच जना यात्रुले ५० हजार रुपियाँ तिर्नु परेको उहाँको भनाइ छ । बस सेवा सञ्चालनमा आएपछि भाडादर सतप्रतिशत सस्तिएको रोकायाले बताउनुभयो ।

सिमकोटबाट नेपालगञ्जसम्मको यात्रामा पर्ने २५ स्थानको भाडा पनि सस्तिएको छ । हुम्ला हिल्सा यातायात प्रालिका अध्यक्ष विशाल रोकायाले सम्पूर्ण यात्रु नठगिउन र भाडामा एक रुपता कायम होस भनेर हुम्लादेखि काठमाडौँसम्म यात्रा गर्दा पर्ने स्थानको भाडादर निर्धारण गरिएको र यसबाट भाडादर सस्तिएको बताउनुभयो ।

प्रालिले निर्धारण गरेको सिमकोटबाट काठमाडौँसम्मको भाडादरमा सिमकोट स्याम्ने एक सय रुपियाँ, खार्पु दुई सय, याङ्चु साँढे दुई सय, बोक्चे गौढा तीन सय, लालिबगर साँढे तीन सय, सुनाखाडा चार सय, रिप छ सय, स्याल्तडी आठ सय, सर्केगार्ड एक हजार, सलीसल्ला एक हजार १५०, बाग्रेचौर एक हजार २५०, खच्चा एक हजार तीन सय, तुम्च चौध सय, मकै एक हजार पाँच सय, गल्फागार्ड एक हजर ६५०, दोमुख एक हजार आठ सय, पैमा एक हजार ९५० र दुई हजार रहेको छ ।

यी स्थानहरु सबै हुम्ला जिल्लामा पर्छन । त्यसैगरी सिमकोटबाट बाजुराको धुलाचौर दुई हजार तीन सय, पीलु चौर दुई हजार पाँच सय, बेर्मा दुई हजार ६५०, काब्डी दुई हजार सात सय र कालीकोटको घाटा चौर, दुई हजार आठ सय, सान्नीघाट दुई हजार नौ सय, जिते तीन हजार पाँच सय, सुर्खेत पाँच हजाार रुपियाँ भाडादर कायम गरिएको छ ।

सिमकोटबाट नेपालगञ्ज पाँच हजार पाँच सय र काठमाडौँसम्म सात हजार पाँच सय रुपियाँ भाडा कायम गरिएको छ । हाल सिमकोटबाट नेपालगञ्जका लागि हुम्ला हिल्सा प्रालि र सिमकोटबाट काठमाडौँ बटालीयन प्रालिले बस सेवा सञ्चालन गर्दै आएका छन । दुवै प्रालिले दैनिक एउटा बस सञ्चालन गर्दै आएका छन् ।