सुजल श्रेष्ठ
प्यूठान, चैत १८ गते । यस वर्ष जिल्लाबाट चार हजार तीन सय ८५ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन लागेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्यूठानका अनुसार साधारण र प्राविधिक धारका परीक्षार्थी एसइईमा सहभागी हुन लागेका हुन् ।
परीक्षामा नियमिततर्फ तीन हजार ५९ जना र ग्रेड वृद्धितर्फ एक हजार तीन सय ५० जना परीक्षार्थी सामेल हुँदैछन् । आठ वटा विद्यालयमा प्राविधिक धारतर्फको पढाइ हुने गर्दछ ।
उक्त विद्यालयबाट एक सय ६४ जना परीक्षार्थीले परीक्षा दिन लागेका छन् । प्राविधिक धारतर्फ पढाइ हुने विद्यालयका परीक्षार्थीलाई एउटा केन्द्रमा परीक्षा केन्द्र तोकिएको छ । माध्यमिक शिक्षा परीक्षा सञ्चालनका लागि जिल्लाभर १६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
कार्यालयले परीक्षाको तयारी स्वरूप केन्द्राध्यक्षलाई अभिमुखीकरण समेत सञ्चालन गरेको कार्यालय प्रमुख दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो ।