• १८ चैत २०८२, बुधबार

अज्ञात रोगले चौंरी मर्न थाले, किसान चिन्तित

blog

तिम्बुङ पोखरी क्षेत्रमा अज्ञात रोगका कारण मरेको चौंरी ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १८ गते । अज्ञात रोगका कारण चौंरी मर्न थालेपछि ताप्लेजुङका किसान चिन्तित बनेका छन् । खर्क (चरन क्षेत्र) तथा गोठमा रहेका चौंरी अज्ञात रोगले मर्न थालेपछि चौंरीपालक किसान चिन्तित बनेका हुन् ।

जिल्लाको पूर्वी सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा अज्ञात रोगले चौंरी मर्न थालेका छन् । सिदिङ्वा गाउँपालिका–१, काली खोलाका स्थानीय किसान कुमार बानियाँ र डिकबहादुर बानियाँले पालेको मरेको छ । स्थानीय भीम भण्डारीका अनुसार हालसम्म उहाँहरूको दुई वटा चौरी अज्ञात रोगका कारण मरेका छन् ।

गोठ तथा खर्कमा रहेका चौंरीले सुरुमा घाँस नखाने, जिङ्ग्राउने, काम्ने, नाक र मुखबाट पानी बग्नेजस्ता लक्षण देखिएको छ । उक्त लक्षणहरू देखिएको दुई, तीन दिनपछि नाक र मुखबाट रगत बग्ने र सिकिस्त भई चौंरी मर्ने गरेको भण्डारीले जानकारी दिनुभयो । 

उक्त लक्षण रहेको अज्ञात रोगका कारण चौंरी मर्न थालेपछि चौंरीपालक किसान चिन्तित बनेका छन् । हालसम्म किसानले गर्दै आएको घरेलु औषधी उपचारले कुनै काम नगरेको र रोगको पहिचान पनि हुन नसकेको उनीहरूको भनाइ छ । अज्ञात रोग सङ्क्रमणका रूपमा फैलिएर चौंरीहरू सखाप होलान् कि भन्ने चिन्ना यतिबेला किसानमा छाएको छ ।

एउटा चौंरीको मूल्य ८० हजारदेखि एक लाख रुपियाँसम्म पर्ने भएकाले चौंरी मर्दा ठुलो नोक्सानी हुने किसानको भनाइ छ । हिमाली भेगमा पालिने चौंरी तथा याक कुनै बेला जङ्गली जनावरले खाएर क्षति गर्ने गरेको छ । कुनै बेला अज्ञात रोग फैलिएर मर्ने हुँदा किसानले धेरै नोक्सानी बेहोर्नुपर्ने अवस्था रहेको छ ।