• २६ पुस २०८२, शनिबार

ठेकेदारको लापर्बाही

पाइप पुरिएनन्, ट्याङ्की चुहिँदा टालटुल

blog

मापदण्डविपरीत बिछ्याइएको पाइप लाइन ।

बाबुराम शर्मा 

दोलखा, पुस २६ गते  । दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणमा ठेकेदारका कारण ढिलासुस्ती भएको छ । ढिलासुस्तीसँंगै गुणस्तरहीन सामग्री प्रयोग गरिरहेको स्थानीयले गुनासो  गरेका छन् । नगरपालिका–३ का उपभोक्ता नारायणभक्त श्रेष्ठले पानी ट्याङ्की, फिल्टर ट्याङ्कीलगायत निर्माणमा कमसल सामग्री प्रयोग भएको जानकारी दिनुभयो । फुटेको चर्केको फिल्टर ट्याङ्की टालटुल पारेर हस्तान्तरण गर्ने तयारी रहेको बताउनुभयो ।  उहाँका अनुसार पाइप लाइन कम खनिएको छ भने पाइप पातलो बिछ्याइएको छ । 

त्यसै गरी नगरपालिकाको वडा नम्बर ४ का उपभोक्ता बृखबहादुर बुढाथोकीका अनुसार स्थानीयवासीले पटक पटक ठेकेदारले खटाएका प्राविधिक दीपक आचार्यलाई गुनासो गरे पनि सुनुवाइ भएको छैन । यहाँ  जडान गरिएका गेटबल, मिटरलगायतका सामग्र्री अहिले नै बिग्रिएर भताभुङ्ग भएका छन् । आयोजना निर्माण स्थल भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवीन लामाले भन्नुभयो, “पटक पटक कामका विषयमा गुनासो गर्दा पनि सुनुवाइ हुन सकेन । गुणस्तरहीन काम हुनुमा आयोजना, परामर्शदाता र ठेकेदारको माथिसम्म मिलेमतो भएको देखिन्छ । हामीले जति पटक भने पनि वास्ता गरिएन ।” 

नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले भन्नुभयो, “ठेकेदारको लापर्बाही पनि असाध्यै बढी भयो । निर्माण सम्पन्न नहुँदै फिल्टर ट्याङ्की फुटेर टालिएको छ । पाइप ९० सेन्टिमिटर तल गाडिनुपर्नेमा अधिकांश स्थानमा माथि माथि नै देखिएको छ । यो तरिकाले काम नगर्नुहोस् भन्दा पनि ठेकेदारले हामीलाई टेरेन ।” उहाँले भन्नुभयो, “ठाउँ ठाउँमा निर्माण भएका संरचना पनि कमसल छन् । आवश्यक नभएका ठाउँमा विभिन्न संरचना निर्माण भएका छन् । कार्यालय भवन कसरी र कतिमा निर्माण भयो भन्ने यकिन छैन । सबै ठाउँमा बेथिति नै बेथिति रहेको छ ।”  

निर्माण व्यवसायी, परामर्शदाता र संस्थालाई बारम्बार जानकारी गराउँदा सबै ढाकछोप गर्दै निर्माणको काम सन्तोषजक रहेको दाबी गर्दै आइरहेका छन् । नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष वासु श्रेष्ठले भन्नुभयो, “वडावासीले तत्काल पानी प्रयोग गर्न पाए पनि यो पानीको आपूर्ति दीर्घकालीन देखिँदैन । निर्माण भएका संरचनामा मापदण्ड अनुसार गुणस्तरको काम भएको छैन । अहिले नै ठाउँ ठाउँमा पानी चुहिन थालेको छ ।” 

नगरप्रमुख ईश्वरनारायण मानन्धरले भन्नुभयो, “करोडौँ रुपियाँ लगानी भएको आयोजनामा इन्टेकसम्म बनेको छैन । मापदण्ड अनुसारको कुनै काम भएको देखिँदैन । खानेपानीको पाइप राम्ररी पुरिएका छैनन् । जडान भएका पाइप, गेटबल, मिटरलगायतका सामान गुणस्तर नहुनाले अहिले नै बिग्रे भत्केका छन् ।” आयोजना उपनिर्देशक मनिना वैद्यले गुणस्तर नभएको गुनासो आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डिजाइनविपरीत  काम भएको पाइएको छ । पाइप, मिटर, गेटबललगायतका सामान गुणस्तर जाँच गराएर ल्याइएको भए पनि पटक पटक खरिद गर्दा फरक फरक सामान आएको देखिन्छ ।”

उहाँले भन्नुभयो, “आयव्यय पारदर्शी गरी उपभोक्ताबाट पारित हुनु पर्छ । उपभोक्ताका लागि नै आएको आयोजनाको सम्पूर्ण जानकारी उनीहरूले पाउनै पर्छ । सबै कुरा मिलाएर आयोजना हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।” सन् २०१९ मार्च २९ मा ६३ करोड रुपियाँमा आयोजनाको काम गर्न जेएन टिसिजी एमएसएनएस जेभीलाई ठेक्का दिइएको थियो । कोभिडको कारण भन्दै दुई÷दुई पटक म्याद थपेको भए पनि हालसम्म आयोजनाका सबै काम सम्पन्न गर्न सकेको छैन । गुणस्तरहीन सामग्री हटाएर नसुधारेसम्म निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी नदिने सर्वोच्च अदालतको फैसला भए पनि यसतर्फ कदम चालिएको छैन । उपभोक्तामाथि नगर विकास कोषको २१ करोड ऋण थोपारिएको छ ।