• २५ पुस २०८२, शुक्रबार

नयाँ पुस्तामा लोकप्रिय बन्दै ‘छलिया नाच’

blog

बैतडीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा परम्परागत वेशभूषामा सजिएका कलाकार सुदूरपश्चिमको मौलिक पहिचान ‘छलिया नाच’ प्रस्तुत गर्दै । तस्बिर : केशवराज भट्ट

वासुलिङ समाचारदाता 

वासुलिङ (बैतडी), पुस २४ गते । सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा परिचित ‘छलिया नाच’ पछिल्लो समय बैतडी जिल्लामा नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ । परम्परागत वेशभूषा, सामूहिक लय र उत्साहपूर्ण प्रस्तुतिले भरिएको नाच बैतडीको सामाजिक जीवनसँग गहिरोसँग गाँसिएको पाइन्छ ।

बैतडीलगायत सुदूरपश्चिमका गाउँ गाउँमा हुने विवाह, व्रतबन्ध, देउडा कार्यक्रम, मेला महोत्सव तथा विभिन्न सांस्कृतिक समारोहमा अहिले छलिया नाच अनिवार्य जस्तै बनेको शिवनाथ गाउँपालिकाका स्थानीय राजेन्द्र कलौनीले बताउनुभयो । पहिले ज्येष्ठ पुस्ताको सम्पत्तिका रूपमा सीमित मानिने यो परम्परा अहिले विद्यालय र क्याम्पस तहका युवकयुवतीले समेत सामूहिक रूपमा अँगाल्दै अभ्यास गर्न थालेको उहाँको भनाइ छ । 

छलिया नाचले संस्कृतिको संरक्षणसँगै बैतडीका युवालाई रोजगारीको अवसरसमेत दिएको छ । सङ्गठित समूह बनाएर विभिन्न स्थानमा प्रस्तुति दिँदै आएका कलाकारले यसलाई आम्दानीको स्रोतका रूपमा लिन थालेका छन् । स्थानीयस्तरमै अभ्यास, प्रस्तुति र व्यवस्थापन हुँदा विदेश पलायनको विकल्प बनेको बैतडीको सुर्नयाका छलिया कलाकार सोभान टेलरले बताउनुभयो । छलिया समूहमा आबद्ध युवा कलाकार प्रकाश टेलर भन्नुहुन्छ, “छलिया नाचले हामीलाई आफ्नो संस्कृति चिन्न मात्र होइन, आत्मनिर्भर बन्न पनि सहयोग गरेको छ । समूह बनाएर कार्यक्रम गर्दा राम्रो आम्दानी हुन्छ, जसले घरखर्च चलाउन मद्दत पुगेको छ ।”

बैतडीमा छलिया नाचसँग सम्बन्धित अन्य पेसासमेत चलायमान बन्दै गएका छन् । परम्परागत पोसाक सिलाउने दर्जी, ढोल–नगारा बजाउने कलाकार र कार्यक्रम व्यवस्थापनमा संलग्न व्यक्तिहरू पनि यसबाट लाभान्वित भएको बैतडीको  पञ्चेश्वर गाउँपालिकाका मनोज औजीले बताउनुभयो । सुदूरपश्चिमको पहिचान बनेको छलिया नाच आज बैतडीमा पुस्ता जोड्ने माध्यमका  रूपमा उभिएको छ । परम्पराको संरक्षण, नयाँ पुस्ताको सहभागिता र रोजगारीको सम्भावना जोडिँदै जाँदा छलिया नाच बैतडीको सांस्कृतिक जीवनमा झनै मजबुत हुँदै गएको छ ।