प्रतीक इच्छुक शर्मा
सल्यान, पुस २५ गते । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावत शुक्रबार दिउँसो घर नजिकैको जंगलमा घाँस–दाउरा काट्न गएकी बेला बाघको आक्रमणमा परेकी हुन् ।
स्थानीयका अनुसार दिउँसो करिब ३:१० बजे बाघले आक्रमण गरी रावतलाई जंगलतर्फ तानेर लगेको थियो। सो घटनाको जानकारी स्थानीयवासीले प्रहरी चौकी घुईयाबारी, सल्यानमा टेलिफोनमार्फत दिएका थिए।
सूचना प्राप्त भएपछि दिउँसो ३ः२५ बजे प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा दुई जनाको प्रहरी टोली स्थानीयवासीसँगै खोजतलासका लागि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी घुईयाबारीबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्ने हरियाली सामुदायिक वन क्षेत्रमा पर्दछ।
प्रहरीकाअनुसार खोजतलासका क्रममा साँझ करिब ५ बजे रावतको शव घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा फेला परेको हो। शवको बायाँ खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यसअघि दुई दिनअघि सल्यान–सुर्खेत सिमाक्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानी निवासी ५७ वर्षीया गंगा सारुको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो। एक साताभित्रै बाघको आक्रमणबाट दुई जनाको ज्यान गएपछि स्थानीयवासीले निकुञ्ज प्रशासनको लापरवाही भएको आरोप लगाएका छन्।
स्थानीय पुरुषोत्तम भट्टराईका अनुसार दुई दिनअघि नै बाघले मानिसमाथि आक्रमण गरे पनि समयमै खोजतलास र नियन्त्रणको पहल नहुँदा दुःखद घटना दोहोरिन पुगेको हो।