अमृतप्रसाद पौडेल
म्याग्दी, चैत १८ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गा तातोपानी कुण्ड क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिले थप आकर्षण बढाउन थालेको छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिले २०८१ साल साउन महिनाको पहिलो सोमबारदेखि नियमित रूपमा गर्दै आएको सन्ध्या गङ्गा आरती सुरु गरेसँगै यहाँ भक्तजनको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिले हरेक सोमबार बेलुका सञ्चालन गर्ने गङ्गा आरतीमा तातोपानी कुण्डमा स्नान गर्न आउने भक्तजनको सक्रिय सहभागिता रहने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
धार्मिक आस्थाका कारण तातोपानी आउने धेरैजसो दर्शनार्थीहरू आरतीमा सहभागी भई आध्यात्मिक आनन्द लिने गरेका छन् । यसले तातोपानी क्षेत्रलाई केवल प्राकृतिक उपचारस्थल मात्र नभई धार्मिक केन्द्रका रूपमा पनि स्थापित गर्न थालेको उहाँको भनाइ छ ।
तातोपानीमा अवस्थित जलकुण्डलेश्वर महादेव मन्दिरमा नियमित रूपमा बिहान बेलुका नित्य पूजा हुँदै आएको छ । मन्दिरको सेवा तथा पूजा व्यवस्थापनका लागि एक जना पुजारी खटिई निरन्तर धार्मिक क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।
आरती कार्यक्रम सञ्चालनका लागि आवश्यक खर्च भने भक्तजन तथा धर्मप्रेमीले स्वतःस्फूर्त रूपमा चढाउने दानदक्षिणाबाटै जुटाइएको छ, जसले कार्यक्रमलाई आत्मनिर्भर बनाएको छ । हरेक बिहान साँझ हुने आरतीमा सहभागी हुन तथा पूजा अर्चनाका लागि पनि भक्तजन आउने गरेका छन् ।
जलधारा, अभिषेक, एकाबृत्ती रुद्री पाठ हुनुका साथै हरेक सोमबार १०८ दीप प्रज्ज्वलन र गङ्गा आरती यहाँको मुख्य आकर्षण रहेको मन्दिरका पुजारी सुदीप गौतमको भनाइ छ ।
धार्मिक गतिविधिसँगै तातोपानी क्षेत्रमा सांस्कृतिक पक्ष पनि सशक्त रूपमा अघि बढिरहेको तातोपानीमा टोल विकास संस्थाले हरेक शुक्रबार बेलुका सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै नयाँ पुस्तामा यसको हस्तान्तरण गर्नु रहेको छ ।
यस्ता कार्यक्रमले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेका छन् ।
विशेषगरी, नयाँ र ओझेलमा परेका कलाकारका लागि यो राम्रो “एक्सपोजर” को अवसर बनेको छ । साथै, मौलिक कला संस्कृतिको संरक्षण र प्रचारप्रसारमा पनि यसले उल्लेखनीय भूमिका खेलेको सिङ्गा तातोपानी टोल विकास संस्थाका अध्यक्ष दीपक बानियाँको भनाइ छ ।
क्षमता भएका कलाकारका लागि यो केवल प्रस्तुतीको अवसर मात्र नभई आम्दानीको स्रोतसमेत बनेको छ ।एकै परिवारका तीन जना आमाछोरीले हरेक शुक्रबार हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गरेको केशकुमारी रोकाले बताउनुभयो ।
आमाले नाच्ने र त्यही सिको गरेर नौ र सात वर्षकी छोरीहरूले पनि साँझको कार्यक्रममा सुन्दर नृत्य प्रस्तुत गर्ने गरेका छन् । कलाकारहरू नाच्दै गर्दा दर्शकहरूले खुसी भएर उनीहरूलाई नगद पैसा दिने गर्दा कलाकारहरू उत्साहीत भएर आफ्नो क्षमता बृद्धिका लागि प्रयास गर्ने गरेका छन् ।
नाच्दै गर्दा दर्शकले पैसा दिने गरेको र त्यसले आफ्नो दैनिकी चलाउनका लागि पनि निकै राम्रो हुने केशकुमारीको अनुभव छ । पाहुनाको स्वागत, धार्मिक आस्था र सांस्कृतिक संरक्षणलाई एकैसाथ जोड्ने यो पहलले तातोपानी क्षेत्रको पहिचान अझ सुदृढ बनाउँदै लगेको स्थानीय व्यवसायी करिस्मा बानियाँको भनाइ छ ।
धर्म र संस्कृतिको सुन्दर सङ्गम बनेको तातोपानी अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि विकसित हुँदै गएको छ ।