नवलपरासी समाचारदाता
गैँडाकोट, पुस २६ गते । पूर्वी नवलपरासीको गैँडाकोट र देवचुलीमा एकै पटक महोत्सव सुरु भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैँडाकोट महोत्सवको उद्घाटन गर्दै उद्योग वाणिज्य क्षेत्रको विकासबिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताउनुभयो ।
उहाँले उद्योग क्षेत्रको विकासमा सबैले लागिपरेमा मुलुकको अर्थतन्त्र बलियो हुने र विकासले गति लिन सक्नेमा जोड दिनुभयो ।
उहाँले विकासको खुड्किलो उद्योग व्यवसाय नै भएकाले यसको समग्र विकासमा हातेमालो आवश्यक रहेकाले सबै व्यवसायीलाई नागरिकस्तरबाट पनि भरपुर सहयोग हुनुपर्नेमा जोड दिनुभयो र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले उद्योग र व्यवसायबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव रहेकाले यसको हितमा हुने गरी काम गर्न सरकार र नागरिक लाग्नुपर्ने बताउनुभयो ।
यसै गरी देवचुली नगरपालिकाको दलदलेमा सुरु भएको देवचुली महोत्सवमा दुई सय स्टल रहेका छन् । दुवै महोत्सव माघ १० गतेसम्म चल्ने छन् । होत्सवको अवधिमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति, थारू, मगरलगायत जातजातिका खानाका परिकार, नाचगानलगायतका प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।