• २६ पुस २०८२, शनिबार

विशेष महाधिवेशनलाई लिएर लमजुङ कांग्रेसमा ध्रुवीकरण

blog

नेपाली कांग्रेस लमजुङको बेंसीसहरमा बन्दै गरेको कार्यालय । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, पुस २५ गते ।
नेपाली कांग्रेसका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । विशेष महाधिवेशनलाई लिएर जिल्लामा ध्रुवीकरण देखिएको छ । कुल २७ जना महाधिवेशन प्रतिनिधिमध्ये २२ जना विशेष महाधिवेशनको पक्षमा स्पष्ट रुपमा खुलेका छन् । यो कुल सङ्ख्याको ८१.४८ प्रतिशत हो ।

कूल २७ जनामध्ये पाँच जना महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनको विपक्षमा देखिनुभएको छ । पार्टी सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर र पार्टीका पूर्वसभापति तथा सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा उभिनुभएको छ ।

पूर्वसभापति एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, लगायत २१ जना प्रतिनिधिले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक अवस्थालाई आधार मानेर विशेष महाधिवेशन आह्वानको माग गर्दै असोजमै हस्ताक्षर गर्नुभएको तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले बताउनुभयो । यसअघि हस्ताक्षर नगर्नुभएका महाधिवेशन प्रतिनिधि तथा नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बिहीबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर विशेष महाधिवेशनको पक्षमा उभिएको घोषणा गर्नुभएको थियो ।

लमजुङबाट २८ जना महाधिवेशन प्रतिनिधि रहेकामा दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधनपछि हाल प्रतिनिधि सङ्ख्या २७ कायम छ । तटस्थ रहेको दाबी गर्दै आउनुभएका कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री तथा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे पनि विशेष महाधिवेशनको समर्थनमा उभिनुभएको छ । विदेशमा रहेका महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङले समेत हस्ताक्षर पठाएर विशेष महाधिवेशनको समर्थन गर्नुभएको छ ।

लमजुङका दुवै क्षेत्रीय सभापति, ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ३ गाउँपालिकाका पार्टी सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । जिल्ला सचिव विमल श्रेष्ठ, २ जना क्षेत्रीय सभापति र स्थानीय तहका ७ जना पार्टी सभापतिले बिहीबार पार्टीको लेटरप्याडमै हस्ताक्षर गर्दै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन सार्वजनिक आह्वान गर्नुभएको छ । दोर्दी गाउँपालिका सभापति विच्छबहादुर घले विशेष महाधिवेशनको पक्षमा खुलेका खुल्नुभएको छैन । जिल्ला कार्य समितिका सभापति डा.टकराज गुरुङसँगै उपसभापति आनन्द घिमिरे, श्रीकान्त घिमिरे र सचिव कृष्णबहादुर अधिकारी नियमित महाधिवेशनको पक्षमा उभिनुभएको छ ।

सचिव अधिकारीले पार्टीको आधिकारिक लाइन र निर्णय बिना जसले जतिवेला मनलाग्यो त्यतिवेला महाधिवेशन बोलाउन नसक्ने बताउनुभयो । अर्का सचिव विमल श्रेष्ठले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई ‘नयाँ कांग्रेस’ बनाउने उद्देश्यसहित विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्नुभयो ।