राममणि दाहाल
हेटौँडा, चैत १८ गते । मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ स्थित गुम्बाचोक सडक खण्डमा बुधबार भएको दुर्घटनामा हेटौँडा–९ की १८ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा बा३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँडा–४ का १९ वर्षीय रोनिस कार्की, सोही मोटरसाइकलको पछाडि सवार एकता वैद्य र ना४प ९३५४ नम्बरको मोटरसाइकल चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बन्देलटारका २१ वर्षीय पुष्पलाल गुरुङ घाइते हुनुभएको थियो ।
प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । दुई मोटरसाइकल एकापसमा ठोक्किएपछि अनियन्त्रित भई नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१५६ नम्बरको ट्रकमा समेत ठक्कर खान पुगेको थियो ।
ट्रकमा ठोक्किँदा टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते हुनुभएकी वैद्यको उपचारका क्रममा १२:२० बजे चिकित्सकले मृत्यु घोषणा गरेका थिए । प्रहरीले दुवै मोटरसाइकल, ट्रक र ट्रक चालक बाँके कोहलपुर नगरपालिका–१४ का ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।