• २६ पुस २०८२, शनिबार

जीवनचक्रीय घाटा बढ्दो

blog

काठमाडौँ, पुस २६ गते । नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेसलन ट्रान्सफर एकाउन्ट प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवनचक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको देखाएको हो । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यो प्रतिवेदनले मान्छेको व्यक्तिगत जीवनमा कुन कुन उमेरमा आम्दानी र खर्चको अवस्था कस्तो छ भनेर बुझ्न मद्दत पुग्ने बताउनुभयो । सामाजिक सुरक्षाका कार्यक्रमको प्रभावकारी कार्यान्वयन, औद्योगिकलगायतका नीति निर्माण तथा रोजगारी सिर्जनाका कार्यक्रम तयार पार्न यी तथ्याङ्क महत्वपूर्ण हुने उहाँले बताउनुभयो । 

“तथ्याङ्क भएन भने हामीले असल नीति बनाउन सक्दैनौँ । नेसनल ट्रान्सफर एकाउन्ट र गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदनले हामीलाई कस्ता नीति र योजना बनाउनु पर्छ भन्ने देखाउँछ,” उहाँले भन्नुभयो, “यस्ता तथ्याङ्क हामी आफैँले तयार पार्नु पर्छ । सरकारकै बजेटबाट अध्ययन गरेर विश्वसनीय तथ्याङ्क राख्ने र यसले नीतिगत सुधार तथा विकास योजना तयार गर्दा महत्वपूर्ण भूमिका खेल्छ ।”

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी कमलप्रसाद पोख्रेलले नेसनल ट्रान्सफर एकाउन्ट प्रतिवेदन नेपालमा पहिलो पटक तयार पारिएको र यसले विभिन्न उमेर समूहका व्यक्तिको आय, उपभोग, बचत र स्रोतको हस्तान्तरण कसरी भइरहेको छ भनेर हेरिएको बताउनुभयो । गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन सङ्घीयता कार्यान्वयनपछि पहिलो पटक तयार पारिएको जानकारी दिँदै उहाँले यस प्रतिवेदनले सङ्घ, प्रदेश र स्थानीय तहलाई गरिबीलक्षित योजना तथा कार्यक्रम बनाउन सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

प्रतिवेदनले व्यक्तिको जीवनचक्र खातालाई प्रतिव्यक्ति र कुल सङ्ख्याका आधारमा अध्ययन गरेको छ । “जनसङ्ख्याको उमेरगत वितरणलाई तीन समूह (बालबालिका तथा युवा ०–२४ वर्ष, काम गर्ने उमेर समूह २५– ६४ वर्ष र वृद्ध जनसङ्ख्या ६५ वर्ष तथा सोभन्दा माथि) मा विभाजन गरी हेर्दा आर्थिक वर्ष २०७८/७९ मा जीवनचक्र घाटा सबैभन्दा कम २५–६४ वर्ष उमेर समूहमा देखिन्छ । यद्यपि यस समूहले पनि बचत पर्याप्त रूपमा गरेको देखिँदैन,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिव्यक्ति सबैभन्दा बढी जीवनचक्र घाटा ६५ वर्ष र सोभन्दा माथि उमेर समूहमा रहेको छ भने समग्रमा सबैभन्दा बढी घाटा ०–२४ वर्ष उमेर समूहमा देखिन्छ । प्रतिव्यक्ति उपभोग २५–६४ वर्षमा सबैभन्दा बढी र ०–२४ वर्षमा सबैभन्दा कम देखिएको छ ।

उमेरको विन्दुगत उपभोग र श्रम आम्दानीको अवस्था हेर्दा जन्मेदेखि २६ वर्ष उमेरसम्म श्रम आम्दानीभन्दा खर्च बढी देखिएको हुनाले जीवनचक्रीय अभाव देखिन्छ भने २७ वर्षदेखि ४६ वर्षको अवधिमा खर्चभन्दा आम्दानी बढी भएको हुनाले जीवनचक्रीय बचत रहेको देखिन्छ । त्यसै गरी ४७ वर्ष उमेरपछि श्रम आम्दानीभन्दा खर्च बढी भएकाले जीवनचक्रीय घाटा देखिन्छ । प्रतिवेदन अनुसार नेपालमा व्यक्तिको जीवनचक्रमा करिब २० वर्षको उमेर अवधिमा मात्र औसत रूपमा जीवनचक्र मुनाफा देखिन्छ । बाँकी उमेर अवधिमा जीवनचक्र घाटा देखिने भएकाले सो अवधिको उपभोग सम्पत्तिको पुनर्वितरणमार्फत वा पारिवारिक तथा सार्वजनिक हस्तान्तरणको माध्यमबाट पूरा गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक र निजी उपभोग अलग गरी हेर्दा प्रतिव्यक्ति निजी उपभोग सार्वजनिक उपभोगभन्दा निकै ठुलो देखिएको छ । स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति सार्वजनिक उपभोग योगदानमा निजी उपभोगभन्दा ९०२ एकाइले बढी छ । सन् २०२१/२२ मा प्रतिव्यक्ति कुल श्रम आम्दानी लगभग रु. ८७ हजार ८१४ रहेको छ । कुल श्रम आम्दानीको लगभग ६९ प्रतिशत हिस्सा तलब तथा ज्यालाको छ भने लगभग ३१ प्रतिशत हिस्सा स्वरोजगारबाट प्राप्त छ । उमेर समूह अनुसार हेर्दा २५ देखि ६४ वर्ष उमेर समूहको तलब तथा ज्यालाबाट प्राप्त आम्दानीको हिस्सा (७१५) सबैभन्दा ठुलो रहेको छ भने ६५ वर्षमाथिका वृद्ध उमेर समूहमा यो हिस्सा सबैभन्दा कम (३५५) रहेको छ । उपभोग र श्रम आम्दानीबिच तुलनात्मक रूपमा ठुलो अन्तर देखिन्छ । देशको कुल उपभोगभन्दा कुल श्रम आम्दानी कम भएकाले ठुलो जीवनचक्र घाटा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार देशको कुल उपभोगभन्दा श्रम आम्दानी निकै कम छ । काम गर्ने उमेर समूहको हिस्सा बढी भए पनि सीमित रोजगारी र सिप असमानताले युवा बेरोजगारी बढाइरहेको छ । साथै काम गर्ने उमेर समूहको उल्लेखनीय हिस्सा वैदेशिक रोजगारमा रहेका कारण देशभित्रको आर्थिक क्रियाकलाप अपेक्षित रूपमा फस्टाउन सकेका छैनन् ।