बाबुराम देवकोटा
खुर्कोट(सिन्धुली), साउन २८ गते । मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड आइतबार बिहानदेखि परेको अविरल वर्षाका कारण यातायात अवरुद्ध छ । ६१ किलोमिटर लामो उक्त खण्डमा यातायात अवरुद्ध हुँदा चार जिल्लाका बासिन्दाले सास्ती खेप्नु परेको छ ।
उक्त खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–६ हैबारमा रहेको अक्करेभिर र फिक्कल गाउँपालिका–६ रत्नावतीमा रहेको सोखुखोलाले वर्षादको मौसममा सधैँजसो सास्ती दिँदै आएको छ । हैबारका स्थानीय बासिन्दा सुमन कोइराला आकाशबाट पानी पर्नासाथ जमिन गलेर अक्करे भिरमा पहिरो खस्न सुरु गरी हाल्ने बताउनुहुन्छ ।
खुर्कोट–घुर्मी खण्डमा यातायात अवरुद्ध हुँदा सिन्धुली र रामेछाप जिल्लाको पूर्वी क्षेत्रसहित गन्तव्यमा हिँडेका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरका यात्रुले सास्ती खेप्दै आएका उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘अक्करेभिरमा पहिरो जानथालेको वर्षौँ भई सक्यो । तै पनि त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न कुनै पनि निकायले चासो देखाएको पाइँदैन ।’’
अक्करे भिरमा वर्षादको मौसममा मात्र नभई हिउँदको मौसममा समेत लामो समय पानी पर्यो भने पहिरो गएर यात्रुले सास्ती व्यहोर्दै आएका छन् । उक्त खण्डमा वर्षादको मौसममा यात्रुलाई सास्ती दिने अर्को सोखुखोला भएको स्थानीयले बताएका छन् ।
मध्य पहाडी लोकमार्ग बनेको एक दशक बितिसक्दा पनि सोखु खोलामा पक्की पुल नबन्दा वर्षादको मौसममा यात्रुले सास्ती व्यहोर्नु परेको त्यस क्षेत्रका जनप्रतिनिधि सोमप्रसाद बरालले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘भारी वर्षा हुनासाथ सोखुखोलामा बाढी आएर यातायात लामो समयसम्म नै अवरुद्ध हुन्छ । जब बाढी घटेर सामान्य बन्छ अनि त्यसपछि यातायात सुचारु हुने गरेको छ ।’’
मध्य पहाडी लोकमार्गको उक्त खण्डमा पर्ने बाँकी सबै खोलामा पक्की पुल निर्माण भए पनि सोखुखोलामा भने पक्की पुल बन्न बाँकी रहेको उहाँले बताउनुभयो । त्यसो त पूर्वी पहाडी क्षेत्रका विभिन्न जिल्लाका खाद्यान्न ढुवानीको गाडी चलाउँदै आएका चालकहरू पनि पानी पर्ने बित्तिकै अक्करेभिर कट्न पाइने हो की नपाइने हो भन्ने चिन्ता बढ्ने गरेको गुनासो गर्दछन् ।
पछिल्लो समय सिन्धुली जिल्ला हुँदै राष्ट्रिय तीन ठुला राजमार्गहरू बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्य पहाडी लोकमार्ग निर्माण भएसँगै जिल्ला सदरमुकाम सिन्धुलीमाढी पूर्वी पहाडी जिल्लामा खाद्यान्न ढुवानीका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ । तराईका जिल्लाबाट व्यापारीले खाद्यान्न लगायतका अन्य सामान जिल्ला सदरमुकाम सिन्धुलीमाढी ल्याई भण्डारण(गोदाम) गरी राख्छन् र आवश्यकता अनुसार पूर्वी पहाडी जिल्लामा पठाउने गरेको स्थानीय बत्ताउँछन् ।
पूर्वी पहाडी जिल्लामा खाद्यान्न ढुवानी गर्दै आउनुभएका चालक हरि थापाले भन्नुभयो, ‘‘अक्करे पहिरो खस्यो भने कतिखेर यातायात खुल्ने टुङ्गो हुँदैन, कहिले कहीँ त तीन दिनसम्म पनि थुनिएर बसेको छु ।’’ बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणले राजधानीसँगको दूरी छोट्याएपनि अक्करेभिरले सधैँ सास्ती दिई रहेको उहाँको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवाल पनि वर्षा भई रहेकाले अक्करेभिरको पहिरो पन्छाउन नसकिएको बताउनुहुन्छ । उहाँले वर्षादको मौसममा अक्करे भिरमा पहिरो खस्दै आएको र पानी रोकिएपछि मेसिन लगाई पहिरो पन्छाएर अहिले पनि त्यसक्षेत्रमा वर्षा भइरहेको र वर्षा रोकिएपछि पहिरो पन्छाएर यातायात खुलाइने उहाँको भनाइ छ ।