गुणबहादुर रोका
सुलीकोट, पुस १३ गते । गोरखामा आयोजना हुन लागेको १२ गोरखा महोत्सव एवम् गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । गोरखा उद्योग वाणिजय सङ्घ गोरखाको आयोजनामा यही पुस १४ गतेदेखि २८ गतेसम्म गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुने महोत्सवको तयारी ९५ प्रतिशत पूरा भई अन्तिम चरणमा पुगेको हो ।
गोरखा उद्योग वाणिजय सङ्घ गोरखाका अध्यक्ष भगवान् बाबु मास्केका अनुसार महोत्सवले जिल्लामा उत्पादन हुने घरेलु तथा कृषि जन्यवस्तुको प्रवर्धनलाई मुख्य प्राथामिकता दिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित आयोजना गर्न लागिएको मेलामा कृषि, हस्तकला, घरेलु उद्योग तथा रैथाने खानाका सामग्रीहरु विशेष प्रदर्शनी रहनेछ ।
महोत्सव करिब सय वटा स्टल राखिने योजना छ । जसमध्ये २० वटा स्टल महिला उद्यमी तथा घरेलु कृषिका लागि छुट्याइएको छ भने १० वटा स्टल रैथाने खानाका लागि सुरक्षित गरिएको छ । बाँकी स्टलहरुमा सजावटी सामग्री, दैनिक उपभोग्य वस्तु तथा विभिन्न व्यावसायिक सामग्रीहरु राखिनेछ ।
महोत्सवलाई आकर्षण बनाउनका लागि स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ भने जिल्लाभित्रका विभिन्न पालिकाहरुको झाँकी, रत्यौली, पञ्चेवाजा, लाखे नाच, भजन तथा सांस्कृतिक झाँकी–याली प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मास्केको भनाइ छ ।
हरमटारीको खेलकुद मैदानमा हाल स्टल निर्माणको काम सम्पन्न भइसकेको र बारबन्देजको करिब ९० प्रतिशत काम पूरा भएको उद्योग वाणिजय सङ्घ गोरखाका कार्यालय सचिव दीपेन्द्र श्रेष्ठले बताउनुभयो । स्टेज निर्माण तथा प्रसारप्रसारका काम पनि सँगसँगै अघि बढिरहेको बताइएको छ ।
उद्योग वाण्जिय सङ्घ गोरखाले जिल्लाका सबै स्थानीय तहका सक्रिय किसानहरुलाई आफ्ना उत्पादन प्रदर्शनीका लागि सहयोग गर्न आग्रहसमेत गरेको छ । महोत्सको औपचारिक उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने आयोजकले जनाएको छ ।
यो गोरखा महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षासहित आयोजना हुन लागेको यस महोत्सवप्रति गोरखावासीमा उत्साह बढ्दै गएको उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष मास्केले बताउनुभयो ।