• १२ पुस २०८२, शनिबार

केन्द्रीय कारागारबाट फरार कैदीको भारतमा मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, पुस १२ गते । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा, काठमाडौँबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काकाअनुसार बिर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँको भारतको हिमाञ्चल प्रदेशस्थित एच एण्ड एफ ए पानी प्रशोधित कम्पनीमा काम गर्ने क्रममा बिहीबार अचानक बेहोस भई लडेपछि उपचारका लागि त्यही नजिकको अस्पताल लगिएको खुलेको छ । 

सोही दिन उपचारका क्रममा मृत्यु भएको र आफन्तले कानूनी प्रक्रिया पुरा गरी शनिबार भारतको गलगलिया नाँका हुँदै भद्रपुरबाट शव बिर्तामोड ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

अदालतको फैसलाबमोजिम जबरजस्ती करणी कसुरमा दोषी ठहर भई विगत चार वर्षदेखि कैद सजाय भोग्दै आएका मियाँ जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट भागेर घर आई भारतमा काम गर्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खड्काले बताउनुभयो ।