• ८ मंसिर २०८१, शनिबार

रङ्गमञ्च

मधेशका किसानको पीडा ‘ट्युबेल’

blog

नाटक ‘ट्युबेल’ मधेशको स्वाद र परिवेश झल्काउने कथा हो । नाटकमा मधेशको माटोको सुगन्ध पस्किने प्रयास गरिएको छ । माटोमा सुन फलाउने किसानको सङ्घर्ष र भोगाइ देखाउन खोजिएको छ । यस नाटकको कथा २०५६ सालतिरको हो तर अहिले पनि किसानका दुःख र सङ्घर्षमा केही परिवर्तन आएको छैन । किसान अहिले पनि उत्तिकै पीडित छन्, जसरी पहिला हुने गर्थे । भोजपुरी र नेपाली भाषामा तयार पारिएको नाटकभित्र प्रजातन्त्रको पुनर्बहालीपछिको समयमा मधेशका किसानले भोगेको सिँचाइसम्बन्धी समस्यालाई उजागर गरिएको छ । 

किसानलाई सिँचाइको निम्ति ट्युबेल उपलब्ध गराउने कार्यालय भूमिगत जलस्रोत विकास परियोजनामा एक जना १६ वर्षे युवक तथ्याङ्क सङ्कलकका रूपमा करारमा काम गर्छन् । साइकलमा खुट्टा खियाउँदै बारा–पर्सा जिल्लाका अधिकांश गाउँ घुम्दा उनले देखेको र भोगेको किसानका समस्या नै नाटकको मुख्य कथा हो । नाटकका निर्देशक रोशन सुवेदीले आफ्नो पहिलो डेब्यु निर्देशनमै मधेशमा घटिरहने किसानका अनेक समस्या नाटकमार्फत प्रस्तुत गर्नुभएको छ । नाटकमा किसानका दुःख, गरिबी र उनीहरूमाथि हुने अत्याचारलाई मुख्य रूपमा केन्द्रित गरिएको छ ।

पर्साको सेढवा गाउँमा हरिया (राजीव चौधरी) र उसकी श्रीमती मुन्नी (निशा दाहाल) बस्छन् । नाटक हरियाको वरपर नाटक घुमेको छ । हरियाको जीवन खेती किसानी गरेर आरामले बितिरहेको छ । उसलाई थाहा छैन, जीवनमा के कस्ता समस्या आइपर्ने हुन् । हरियाको सोच सकारात्मक छ र ऊ कसैको कुभलो चाहँदैन । उसको भतिज मङ्गला (अरविन्दकुमार मौर्य) खेतीपाती छाडेर माछा मार्ने काम गर्छ । हरियालाई भने यो काममा खासै रुचि छैन । 

हरियाको मुख्य धोको भनेकै आफ्नो खेतमा मज्जाले अन्नबाली उब्जाएर छोरीको विवाह गरिदिने र गाउँको मुखियासँग लिएको ऋण तिर्ने हो । दिनभर खेतमा काम गरेर राति साथी नन्दन (श्रवण यादव) सँग रक्सी पिउने बानीले हरियाकी श्रीमती  हैरान छन् । गरिबीले हरियालाई च्यापेको छ । त्यसैले गरिबीको चोट बिर्सन पनि ऊ पिउने गर्छ । ऊ सधैँ जसो नै पिउँछ ।

एक दिन गाउँमा सिँचाइ विभागका कर्मचारी लालबहादुर खड्का (भुवन लुहार) ट्युबेल बनाउनका लागि सर्वेक्षण गर्न आइपुग्छ । लालबहादुर आएसँगै गाउँमा सिँचाइ समस्या नहुने आसमा हरिया आशावादी छ । ऊ निकै खुसी देखिन्छ । कर्मचारीले ट्युबेलका हरियाको खेत उपयुक्त हुन्छ भनेर सुनाउँछन् । त्यसपछि हरियाको खुसी दोब्बर हुन्छ । ऊ श्रीमती मुन्नीलाई अब हाम्रा दुःखका दिन गए, सुखका दिन आए पनि भन्छ तर यता कर्मचारीको निर्णयप्रति गाउँका मुखिया (कुन्दन थारू) र चित्तरञ्जन (रोहित रजक) खासै खुसी देखिँदैनन् । मुखियालाई हरियाको खेत हडप्नु छ र त्यहाँ आफूले भने जस्तो गाँजाको खेती गर्नु छ ।

यता हरियालाई सिँचाइ विभागमा केही प्रतिशत पैसा पनि बुझाउनु छ, जुन सरकारले ट्युबेल जडान गर्नुअघि लिने गरेको हुन्छ । यता हरियाको खेतमा ट्युबेल गाड्ने निर्णयबाट खुसी नभएका चित्तरञ्जन पछि फेरि सरकारको नयाँ निर्णयबाट खुसी हुन्छ । मुखिया पनि आफ्नो स्वार्थ हरियामार्फत पूर्ति हुने पहिल्यैबाट देखिरहेका हुँदैनन् । 

नाटकमा हरियाले देखेको सुनौलो भविष्य त्यसै प्राप्त हुने पनि देखिँदैन । ट्युबेलका लागि कि उसले आफ्नो भएको बाख्रालगायत घरबार नै बेच्नुपर्ने हुन्छ । के हरियाले बाँकी रकम जोड्न सक्ला ? हरियाको कमजोरीमा चित्तरञ्जन र मुखियाकोे चलखेल कस्तो होला ? सरकारले फेरि निर्णय फेर्ला ? के हरियाको खेतमा ट्युबेल लगाइएला त ? यिनै प्रश्नको जवाफ हो – नाटक ‘ट्युबेल ।’ 

मञ्चमा देखिएको मधेशको पुरानो घर, छरिएको पराल र खाना पकाउने भान्छा कोठामा पाकेको माछाको बास्नाले पनि दर्शकलाई मधेशतिर डो¥याउँछ । नाटकको सङ्गीत प्रशंसायोग्य छ । तबला र बाँसुरीका धुन धेरै नै कर्णप्रिय छन् । शशिविक्रम थापा, जानुका नेपाल, शरद राई, दीपेश राई र राजकमल फकिरको समूहले गज्जबको सङ्गीत दिएको छ । नाटकमा भोजपुरी गीत र भाषाको मिठास मिसिएको छ । 

नाटकका सबै कलाकार नयाँ छन् । त्यसैले पनि उनीहरूको अभिनयमा खासै नयाँपन नदेखिएको हुन सक्छ । अभिनयको हिसाबले हेर्ने हो भने हरियाको भूमिकामा देखिएका राजीव चौधरीको अभिनयले दर्शकलाई केही मात्रामा प्रभावित बनाउन सक्छ । मुखियाको भूमिकामा रहनुभएका कुन्दन थारूलाई सुहाएको छ । कम बोल्ने तर काम गरेर देखाउने उहाँको विचार छ । अन्य कलाकारको अभिनयमा खासै नयाँपन झल्किँदैन । उनीहरूको अभिनयमा कुनै उत्साह नै देखिँदैन । 

मधेशमा हुर्केका निर्देशक सुवेदीले नाटकमा मधेशको कथा मात्रै होइन, त्यहाँका किसानका सङ्घर्ष र पीडाका कथालाई पस्कन खोज्नुभएको छ । किसानको पीडाको यो कथा खासै नयाँ नभए पनि उहाँले दर्शकलाई पस्कन खोजेका कुरामा भने केही नयाँपन झल्किन्छ । नाटकभित्र मधेशका कथा देखाउन खोजिएको छ । मधेशमा रहेको सिँचाइको समस्यालाई नाटकमा देखाइएको छ । खडेरीले चिन्तामा परेकोे एउटा गरिब किसानको कथालाई निर्देशक सुवेदीले विभिन्न कोणबाट प्रस्तुत गर्नुभएको छ तर गाउँमा ट्युबेल गाडिन्छ या गाडिँदैन, त्यसको जवाफ भने निर्देशक स्वयंले पनि दिन सक्नु भएको छैन । त्यसैले पनि नाटक अपूरै अन्त्य गरिएको हो कि भन्ने भान कता कता हुन्छ ।