मस्को/केएभ, फागुन २ गते । युक्रेन, संयुक्त राज्य अमेरिका र रूस बिचको त्रिपक्षीय वार्ताको अर्को चरण जेनेभा, मस्को र किएभमा फेब्रुअरी १७-१८ मा हुने जनाइएको छ । रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने, रूसी समाचार एजेन्सी तासले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ ।
युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमेरोभले सामाजिक सञ्जाल फेसबुक मार्फत सैन्य, राजनीतिक र सुरक्षा घटकलाई समावेश गर्दै युक्रेनी वार्ता टोली गठन गरिएको जनाउनु भएको छ । यसै गरी उमेरोभले दिगो र स्थायी शान्ति प्राप्त गर्नु वार्तामा युक्रेनी प्रतिनिधिमण्डलको मुख्य लक्ष्य रहेको कुरामा जोड दिनु भएको छ ।
तीन देशबिच त्रिपक्षीय सुरक्षा परामर्शको पहिलो चरण जनवरी २३-२४ मा अबु धाबीमा भएको थियो, जहाँ रूसी प्रतिनिधि मण्डलको नेतृत्व सैन्य प्रमुख इगोर कोस्ट्युकोभले गर्नु भएको थियो । दोस्रो चरण अबुधाबीमा ४–५ फेब्रुअरीमा भएको थियो भने बैठकपछि अमेरिका रूस र युक्रेन ३१४ जना युद्ध बन्दीे आदानप्रदानमा सहमत भएको जनाइएको छ । रासस/सिन्ह्वा