• २ फागुन २०८२, शनिबार

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग शाख जोगाउने अपेक्षा

blog

वेस्ट इन्डिजविरुद्धको खेलका लागि तयारी गर्दै नेपाली टोली । तस्बिरहरु : विकास द्वारे

काठमाडौँ, फागुन २ गते । तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालको प्रदर्शन नतिजाका हिसावले सन्तोषजनक छैन । 

नेपालले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा दुई पटकको विजेता इङ्ल्यान्डविरुद्ध सनसनी पूर्ण प्रदर्शन गर्दै अन्तिम बलसम्म जितको सम्भावना राखेपनि चार रनले खेल गुमाएको थियो । 

कमजोर मानिएको इटालीविरुद्धको दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा विर्शनलायक प्रदर्शन गरेपछि नेपाली टोलीमा थप निराशा छाएको छ । इङ्ल्यान्डविरुद्धको पहिलो खेलमा वाहवाही बटुलेको नेपालले दोस्रो खेलमा १० विकेटको अप्रत्यासित हार खेपेपछि विश्वभरमा समर्थक खिन्न छन् । 

नेपाललाई अब आइतबार वेस्ट इन्डिजविरुद्धको खेलमा लय फर्काउने मौका छ । मुम्बईस्थित वनखेडे मैदानमा दिउँसो ११:१५ बजे सुरु हुने खेल जित्न सके नेपालले विश्वकपमा वलियो टोलीलाई हराएर इतिहास रच्नेछ । 

वेस्ट इन्डिज नेपालका लागि अर्को बलियो प्रतिद्वन्द्वी हो । लगभग सुपर आठको सम्भावना सकिएको नेपालले वेस्ट इन्डिजलाई हराएर आफ्नो शाख जोगाउने अपेक्षा गरिएको छ । 

अघिल्ला दुई खेलमा लगातार जित निकाल्दै चार अङ्कसहित शीर्षस्थानमा रहेको वेस्ट इन्डिज उत्कृष्ट लयमा छ । नेपालविरुद्धको खेलमा पनि वेस्ट इन्डिज आफ्नो लय कायम राख्न चाहन्छ । 

नेपाललाई भने वेस्ट इन्डिजको लयमा ब्रेक लगाउँदै क्रिकेट समर्थकको साथ बटुल्ने अवसर छ । दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिज आफैमा अनुभवी टोली हो । तर क्रिकेटमा कहिल काँही नतिजा बदलिएको इतिहास पनि छ । गत असोजमा मात्र नेपालले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिज २–१ ले जितेको थियो । 

हाल दुई खेलको समाप्तिसँगै समूहमा स्कटल्यान्ड, इङ्ल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो । नेपालले वेस्ट इन्डिजपछि समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । 

यसैबिच नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल बिरामी पर्नुभएको छ । इटालीको खेलपछि बिरामी हुनुभएको रोहित शनिबारको प्रशिक्षणमा समेत उपस्थित हुनुभएन । उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेकोले वेस्ट इन्डिजविरुद्धको खेल खेल्न सक्ने बताईएको छ । 

नेपालले समग्रा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।