• २ फागुन २०८२, शनिबार

‘क्षणिक लोकप्रियताले दीर्घकालीन असर पार्छ’

blog

पत्रकार सम्मेलनमा प्रचार संयोजक मिनबहादुर शाहीसहित नेतृत्वगण ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन २ गते । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले क्षणिक तथा भावनात्मक लोकप्रियताले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि प्रभाव पार्न सक्ने बताउनुभएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचनसम्बन्धी छलफल कार्यक्रममा उहाँले राजनीतिमा देखा पर्ने लोकप्रियतावाद प्राय भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पर्ने जोखिम रहने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेकपा (एमाले) नेपालका आमजनता, आमाबुवा, दाजुभाइ, दिदीबहिनी, युवा वर्ग, किशोरकिशोरी सबै मतदाता समक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न अनुरोध गर्दछौं । विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरु लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ ।”

उहाँले राजनीतिलाई केबल आलोचना वा असन्तोषको माध्यम बनाउन नहुने भन्दै राजनीतिलाई समाधान र विकासको सशक्त औजारका रुपमा अघि बढाउन युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो । जेनजी पुस्ताले परिवर्तनका सम्बन्धमा उठाएका माग, मुद्दाप्रति विमति नरहेको तर हिंसा र विध्वंश स्वीकार्य नहुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “युवाशक्ति राष्ट्रको वर्तमान र भविष्य दुवैको लागि महत्वपूर्ण साझेदार शक्ति हो भन्ने कुरामा हामी दृढ विश्वास राख्दछौं । देशभित्र वा विदेशमा रहेर श्रम, सीप, ज्ञान र सिर्जनशीलता प्रयोग गरिरहेका नेपाली युवाहरुले राष्ट्रपति देखाएको प्रतिबद्धता अत्यन्तै प्रेरणादायी छ । राजनीतिलाई केबल आलोचना वा असन्तोषको माध्यम होइन, समाधान, नवप्वर्तन र विकासको सशक्त औजारका रुपमा अघि बढाउन युवाको सक्रिय भूमिका अपरिहार्य छ ।”

उहाँले आगामी निर्वाचनको सन्दर्भमा परिवारजन तथा समुदायमार्फत सकारात्मक जनमत निर्माण गर्न र निर्वाचन प्रक्रियामा आवश्यक सहयोग गर्न विदेशमा रहेका नागरिकमा पनि आह्वान गर्नुभयो ।  

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई सार्थक पार्दै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख अर्थतन्त्रको आधारमा समान अवसरयुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगारीका पर्याप्त अवसर, सुरक्षित आवास र सम्मानित जीवनस्तर सुनिश्चित गर्दै उच्च आयस्तरको विकसित राष्ट्र निर्माण गर्नु आजको ऐतिहासिक आवश्यकता हो । त्यसको प्रभावकारी र परणाममुखी नतिजाको लागि नेकपा (एमाले) को नेतृत्व सक्षम छ र त्यस कारणले आवश्यकता हो ।”