• २ फागुन २०८२, शनिबार

पाथीभरा दर्शन गर्ने भक्तजन एक लाख १३ हजार

blog

ताप्लेजुङस्थित पाथीभराको दर्शन गर्दै भक्तजन । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या एक लाख तेह्र हजार बढी रहेका छन् । पछिल्लो सात महिनाको अवधि अर्थात माघ मसान्त सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । 

पाथीभरा क्षेत्र विकास समितिका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सात महिनाको अवधिमा कुल एक लाख १३ हजार ४९९ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । हिउँद यामको समय भए पनि पाथीभरा दर्शन गर्ने भक्तजन नियमित आइरहेका समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार माघ महिनामा १० हजार ३२३ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै पुस महिनामा पनि पाँच हजार ९११ जना भक्तजनले पाथीभरा दर्शन गरेका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

पाथीभरा दर्शन गर्ने मुख्य मौसम मानिने दसैँ तिहारको अवधिमा भने उल्लेख्य भक्तजनहरु आएका हाङ्बाङले बताउनुभयो । उहाँका अनुसार असोज महिनामा २९ हजार १७४ जना र कात्तिकमा ४२ हजार २६१ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । यसैगरी मङ्सिर महिनामा १९ हजार १८१ जना भक्तजन पाथीभरा दर्शनमा आएका छन् । 

समितिको तथ्याङ्कअनुसार चालु आवको हालसम्ममा सबैभन्दा न्युन साउन महिनामा दुई हजार १४६ जना भक्तजन पाथीभरा दर्शन गर्न आएका थिए । त्यसपछि भदौ महिनामा चार हजार ५०३ जना भक्तजनले पाथीभरको दर्शन गरेका समितिको तथ्याङ्क रहेको छ । देशका विभिन्न जिल्ला तथा नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट पाथीभरा दर्शनका लागि भक्तजन आउने गरेका छन् ।

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो अर्थात हिउँद याममा केही न्युन भक्तजन मात्र दर्शनमा आउने गरेका छन् । दसैँ तिहारपछि पाथीभरा दर्शन गर्ने अर्को मौसम रामनवमी अर्थात चैते दसैँको समय नजिकिएकाले फागुनपछि भक्तजनको आउजाउ बढ्ने समितिले जनाएको छ । यता चालु आवको माघ मसान्तसम्ममा पाथीभरामा दुई करोड छ लाख ८८ हजार १०० रुपियाँ भेटी रकम सङ्कलन भएको छ ।