• १२ साउन २०८१, शनिबार

समाजवादी आन्दोलन अघि बढाइने

blog

काठमाडौँ, असार २४ गते । चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपालको बैठकले नीति तथा कार्यक्रम र आचारसंहिता निर्माण गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेको कार्यदल गठन गरेको हो । 

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र नेकपाका प्रवक्ता प्रकाण्डले तीन दिनभित्र नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने जिम्मेवारीसहित कार्यदल गठन भएको बताउनुभयो । उपाध्यक्ष पाण्डेले भन्नुभयो, “चार जनाको कार्यदलले नीति, कार्यक्रम र आचारसंहिता बनाउँछ, त्यहाँ मोर्चाको अबको नीति कस्तो हुने, भावी उद्देश्य कस्तो हुने र मोर्चा सञ्चालन कसरी गर्ने भन्ने सन्दर्भमा प्रस्ट कुरा आउँछ ।” प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवसहित दोस्रो तहका नेताहरूले लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा छलफल गर्नुभएको छ । 

उपाध्यक्ष पाण्डेका अनुसार शनिबारको बैठकको अध्यक्षता एकीकृत समाजवादीका अध्यक्ष नेपालले गर्नुभयो । बैठकको अध्यक्षता छ छ महिनामा गर्ने गरी समझदारी भएको छ । उहाँले सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने र त्यसको घोषणा मोर्चाको असार २७ गते बस्ने दोस्रो बैठकले गर्ने बताउनुभयो । 

‘नेपाली विशेषताको समाजवाद’

चार दलका शीर्ष नेताको बैठक नेपालको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई नवीन रूपान्तरणसहित अघि बढाउने सन्दर्भमा केन्द्रित थियो । उपाध्यक्ष पाण्डेले समाजवादी मोर्चालाई बलियो बनाएर जाने, नेपाली समाजको विशेषता अनुसारको समाजवाद निर्माण गर्ने र त्यसका लागि नीतिगत दस्ताबेज निर्माण गर्ने सन्दर्भमा गम्भीर रूपमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मोर्चा निर्माणको उद्देश्य देशका समस्या समाधानमा केन्द्रित छ । लोकतान्त्रिक समाजवादी आन्दोलनलाई उचाइ दिनकै लागि हामी एकै ठाउँमा उभिएर योजनाबद्ध कार्यक्रम अघि बढाउने जुटेका हौँ ।”

नेकपाका प्रवक्ता प्रकाण्डले प्रकाण्डले देशमा आएको परिवर्तन नचाहनेहरूका लागि चुनौती दिन र निकासको वातावरण तयार गर्न मोर्चा निर्माण गरिएको बताउनुभयो । उहाँले देशैभरिको संरचनाका बारेमा तीन दिनभित्र दस्ताबेज तयार गरेर असार २७ गते बस्ने बैठकमा प्रस्तुत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताका र देशका अप्ठ्यारालाई समाधान गर्ने, राष्ट्रियतामाथिको थ्रेटलाई सामन गर्ने सामथ्र्य तयार गर्ने र राष्ट्रिय आवश्यकता अनुसार जनता र राष्ट्रका समस्या समाधान गर्नु नै मोर्चाको लक्ष्य हुने छ । त्यही अनुरूप कार्यक्रम आउने छ ।”

‘एमाले फस्यो’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री प्रचण्डविरुद्ध प्रमुख प्रतिपक्षी दलले उठाएका सवालमा बैठकमा छलफल नभए पनि आफूहरू यो विषयमा प्रस्ट रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिका सन्दर्भमा संसद्मा कुरा उठाउन एमालेलाई आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले उक्त विषयको सामना संसद्मै गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमालेले गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरूले संसद्मा बोल्नुपथ्र्यो, राजीनामा लिएर आउनु भन्ने कुरा हुँदैन । के बोलेको हो तपाईंले भनेर प्रस्टीकरण माग्नुपथ्र्यो । तर उहाँहरूले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ– एमाले पार्टी फस्यो, संसदीय मोर्चामा गलत काम भयो ।”