प्रवीणकुमार शर्मा
रौतहट, चैत २३ गते । रौतहटमा आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ । मौलापुर नगरपालिका–५, गोदावरी चोकस्थित एक घरमा आइतबार साँझ आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट मौलापुर नगरपालिका–५ का जगदीश साहको फुसको घर पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ ७ बजेतिर घरमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगलागी राति ८ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मानवीय क्षति भने हुन पाएन । तर घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा नगद रकम जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरभित्र रहेका दुई ग्यास सिलिन्डरमध्ये एउटा आगोले पड्किएको र अर्को जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब २ लाख ८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।