सुधा देव
भारदह (सप्तरी), चैत २३ गते । सरकार परिवर्तन भएको एक साताभित्रै सप्तरीका सरकारी कार्यालयका कर्मचारीहरूको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेपछि सेवाग्राहीहरूले सहज महसुस गर्न थालेका छन् ।
पहिले सरकारी कार्यालयमा काम गराउन जाँदा राजनीतिक आडमा “मै हुँ” भन्दै काममा आलटाल गर्ने, झर्को–फर्को गर्ने कर्मचारीहरूको व्यवहारमा अहिले सकारात्मक परिवर्तन आएको सेवाग्राहीहरूले बताएका छन् । कार्यालयहरूमा बिचौलियाको आवतजावत कम भएपछि कम खर्चमा मुस्कानसहित सहज रूपमा सेवा पाउन थालेको स्थानीय सुरेन्द्र यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विशेषगरी गरिब, असहाय, राजनीतिक पहुँच र चिनजान नभएका सेवाग्राहीलाई जिल्लाका अधिकांश कार्यालयमा काम गर्न कठिन हुने अवस्था थियो । अहिले भने भेदभावरहित रूपमा समान सेवा पाउन थालेको महसुस भएको छ ।”
राजविराज नगरपालिकाको कार्यालयसहित जिल्लाका अधिकांश कार्यालयका कर्मचारीहरू पोशाकमा बिहान १० देखि अपराह्न ५ बजेसम्म कार्यालयमा अनिवार्य उपस्थित भई सेवाग्राहीलाई छिटो र सहज रूपमा मुस्कानसहित सेवा दिन कार्यालय प्रमुखहरूले निर्देशन दिएपछि सोहीअनुसार कार्यान्वयन भइरहेको स्थानीय कविता रामले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले सेवा लिन सरकारी कार्यालय जाँदा काम हुन्छ कि हुँदैन, कर्मचारीले टेर्छ कि टेर्दैन भन्ने भय हुन्थ्यो । तर अहिले त्यस्तो डर हटेको छ ।”
केही दिनयता मात्र जिल्ला प्रहरी कार्यालय र उच्च अदालत जनकपुरको राजविराज इजलासले कुनै पनि अनुचित लेनदेनबिना निष्पक्ष र सहज रूपमा सेवा दिने भन्दै कार्यालय परिसरमै सूचना टाँस गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत, यातायात कार्यालयलगायतमा दिनभर लाग्ने बिचौलियाको भीड हटेपछि सेवाग्राहीलाई थप सहज भएको छ ।
कर्मचारीहरूले भेदभावरहित मुस्कानसहित सेवा दिन राजविराज नगरपालिकाको कार्यालयसहित सबै सरकारी कार्यालयमा तत्परता देखाएको र यो क्रम निरन्तर रहने राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले बताउनुभयो ।