सल्यान समाचारदाता
सल्यान, चैत २३ गते । जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पूर्वाधार विकास कार्यालय सल्यानले छ वटा संरचना पुनर्निर्माण गरेको छ । करिब तीन करोड रुपियाँको लागतमा चार वटा विद्यालय र दुई वटा स्वास्थ्य संस्था पुनर्निर्माण सम्पन्न गरिएको हो ।
पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नवीन थापाका अनुसार पुनर्निर्माण गरिएका संरचनामा दार्मा गाउँपालिका–५ स्थित अन्धनाशक आधारभूत विद्यालय, दार्मा गाउँपालिका–४, लाखुरीडाँडास्थित कालिका आधारभूत विद्यालय, शारदा नगरपालिका–८, तल्लो मार्केस्थित जनकल्याण आधारभूत विद्यालय तथा सिद्धकुमाख गाउँपालिका–४, सागिने विद्यालय छन् ।
भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण भएपछि स्थानीयलाई सहज आएको छ । कालिका आधारभूत विद्यालय दार्मा–४ का शिक्षक कृष्ण बस्नेतले भूकम्पका कारण विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको उल्लेख गर्दै नयाँ भवन निर्माणपछि सहज रूपमा कक्षा सञ्चालन गर्न सकिएको बताउनुभयो । त्यस्तै कुमाख गाउँपालिकाको गुरुदासे स्वास्थ्य एकाइ र बागचौर नगरपालिकाको सोटागारस्थित स्वास्थ्य सेवा केन्द्रको पुनर्निर्माण गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सिद्धार्थ मिश्रका अनुसार भूकम्प प्रभावित क्षेत्रमा क्षतिग्रस्त संरचनालाई प्राथमिकतामा राख्दै द्रुत गतिमा पुनर्निर्माण अघि बढाइएको छ । उहाँले भन्नुभयो, “स्थानीयलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको हो ।” भूकम्पबाट क्षतिग्रस्त शैक्षिक तथा स्वास्थ्य पूर्वाधार पुनर्निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रूपमा सेवा लिन पाएका छन् ।
कार्यालयले प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार पुनस्र्थापना गर्दै सेवा प्रवाहलाई निरन्तरता दिने उद्देश्यले काम अगाडि बढाएको जनाएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अनुसार २०८० कात्तिक १७ गते राति गएको जाजरकोट भूकम्पले सल्यानमा चार हजार ३६४ घरमा क्षति पु¥याएको थियो । तीमध्ये सबैभन्दा बढी दार्मा गाउँपालिकामा चार हजार ८१ घरमा क्षति पुगेको थियो । यस्तै बागचौर नगरपालिकामा १५४, कुमाख गाउँपालिकामा १२४ र त्रिवेणी गाउँपालिकामा १२ घरमा क्षति पुगेको तथ्याङ्क छ ।