जुम्ला समाचारदाता
जुम्ला, चैत २३ गते । जुम्लाको पातारासीमा हाई अल्टिच्युड तालिम केन्द्र निर्माण हुने बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण निर्माण हुन नसकिरहेको तालिम केन्द्रका लागि अहिले जग्गा प्राप्तिपछि निर्माणका लागि बाटो खुलेको हो ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले नौ वर्षपछि जग्गा प्राप्त भएको र तालिम केन्द्र निर्माणको बाटो खुलेको जानकारी दिनुभयो । जग्गा अभावका कारण बर्सौंदेखि कागजमै अल्झिएको परियोजनालाई स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएर गति दिएका छन् । उक्त कार्यका लागि पातारासी गाउँपालिका–३, लोठचौरका लाउरो बोहोरा, गोरबहादुर बोहोरा र कुम्भ बोहोराले छ हजार १२० वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँले उक्त जग्गाको लालपुर्जा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई हस्तान्तरण गरिसकेको बताउनुभयो । उहाँका अनुसार जग्गा खेलकुद विकास समितिको नाममा ल्याउनका पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको नेतृत्वमा जग्गा व्यवस्थापन समिति बनाइएको थियो । जग्गा उपलब्ध भएपछि निर्माणाधीन गतिविधि अगाडि बढाउन बाटो खुलेको हो । उहाँका अनुसार संसारका खेलाडीलाई जुम्ला र पातारासी भित्राएर हाई अल्टिच्युडमा तालिम दिने र खेल पर्यटन प्रवर्धन गर्नका लागि जिल्ला खेलकुद विकास समिति, स्थानीय पातारासीवासी र स्थानीय खेलाडी, सरोकारवाला निकायले सो क्षेत्रमा हाई अल्टिच्युड तालिम केन्द्र लागि प्रस्ताव गरेका थिए । सोही अनुसार २०७४ पुसमा खेलकुद मन्त्रालयले सम्भाव्यता अध्ययन गरेको थियो ।
उपाध्यक्ष रोकाया भन्नुहुन्छ, “यहाँ जग्गा यकिन नहुँदा बर्सेनि बजेट विनियोजन हुने र खर्च नभएर फिर्ता जाने अवस्था थियो । गत आर्थिक वर्षमा मात्रै जग्गा प्राप्ति नहुँदा पाँच करोड ६६ लाख रुपियाँ फ्रिज भएको थियो ।” तालिम केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण हुने सेन्टर पूर्वाधारका लागि कुल लागत एक अर्ब ५८ करोड रुपियाँ अनुमान गरिएको छ । हालसम्म दुई करोड ५० लाख रुपियाँ खर्च भएको छ भने चालु आर्थिक वर्षका लागि छ करोड ३० लाख रुपियाँ विनियोजन भएको खेलकुद विकास समितिले जनाएको छ ।
यो पूर्वाधार बनेपछि जुम्ला र पातारासीको पहिचान नै फेरिने आशा स्थानीयले गरेका छन् । अहिलेसम्म विश्वको उच्च स्थानमा मार्सीधान फल्ने क्षेत्र (छुमचौर) र हिमशृङ्खलाका कारण चिनिएको पातारासी अब अन्तर्राष्ट्रिय खेलग्राम बन्ने छ । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले यो परियोजना बन्न सकेमा हुम्ला खेल पर्यटनको हब बन्न सक्ने बताउनुभयो ।