बाबुराम शर्मा
दोलखा, चैत २३ गते । दोलखाको भीमेश्वर नगरपालिका–५ पैसौँस्वाराका एक दलित दम्पतीले हातको सिप बेचेर पनि जीविकोपार्जन गर्न कठिन भएको गुनासो गर्नुभएको छ ।
पति भीमबहादुर विश्वकर्मा र पत्नी रेणु विश्वकर्माले पहुँच नहुँदा आफ्नो सिपलाई बजारसम्म पु¥याउन नसकेको दुःखेसो पोख्नुभएको हो ।
उनीहरूको झुपडी सडक सञ्जालबाहिर रहेको छ । फलामबाट निर्मित सामग्री बजारमा राखेर बिक्री गर्न नपाउँदा रेणु विश्वकर्मा भीमेश्वर नगरपालिकाको सातदोबाटो सडकपेटीमा राखेर सामान बेच्न बाध्य हुनुभएको छ ।
उहाँले भन्नुभयो, “देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, तर हामीले त्यसको किञ्चित अनुभूति पनि गर्न पाएनौँ । नयाँ सरकार आएको छ, तर लाग्छ त्यो पहुँचवालाकै लागि आएको हो । बाबुबाजेले दिएको सिपबाहेक अरू कमाइ खाने केही छैन । फलाम पिटेरै जीवनयापन गर्न बाध्य छौँ ।”
उहाँका अनुसार भूकम्पले घरको कटेरो चिराचिरा पारेको छ । पहुँच नहुँदा आवास सुविधा त परको कुरा, कटेरो मर्मतसमेत गर्न नपाएको गुनासो उहाँले गर्नुभयो ।
“आँगनको सरकार भनिने वडाले पनि सुनुवाइ गरिदिएन,” उहाँले भन्नुभयो, “बाबुबाजेको पालामा जेनतेन हातमुख जोड्ने आधार बालीघरे प्रथा थियो, अहिले त्यो पनि छैन । गरिबीको चपेटामा जीवन बिताउनु परेको छ ।”
फलाम पिटेर सडकपेटीमा राखी गरिने सानो व्यापारबाट छ जनाको परिवारले जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यसरी नै दुःख गरेर दुई छोरालाई कक्षा १२ सम्म पढाउन सफल भए पनि पहुँच नहुँदा उनीहरूले रोजगारी पाउन सकेका छैनन् । चालकको कामसमेत नपाएपछि उनीहरू अहिले बिहान–बेलुका आमाबुवालाई फलाम पिट्न सहयोग गर्दै आएका छन् ।
“सडकपेटीको व्यापार कहिले त बोहनीसमेत हुँदैन,” उहाँले भन्नुभयो, “सुधारिएको आरन राखेर राम्रो व्यापार गर्ने चाहना थियो, तर त्यो कल्पना र सपनामै सीमित भएको छ ।”
रेणु विश्वकर्माले पतिले बनाएका रु १३० को चिम्टा, रु १ हजारको कोदालो, रु १ हजारकै बन्चरो, रु ९ सयको सानो र रु १ हजार ५ सयको ठूलो खुकुरी लिएर सडकपेटीमा घाम–पानी नभनी ग्राहक कुरेर बस्ने गरेको बताउनुभयो । “यति नगरे हातमुख जोड्न सकिँदैन, के गर्नु ?” उहाँले गुनासो सुनाउनुभयो ।