• २३ चैत २०८२, सोमबार

बर्दिबास उद्योग वाणिज्य संघको निर्वाचन : दुई प्यानलबिच कडा प्रतिस्पर्धा

blog

अजय शाह 
गौशाला (महोत्तरी), चैत २२ गते ।
महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी माहोल तातिएको छ । यही चैत २४ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारहरू यतिबेला मतदातासँग भेटघाट तथा मत माग्न व्यस्त देखिएका छन् ।

निर्वाचनमा दीपक कार्की नेतृत्वको प्यानल ‘डमरु’ चुनाव चिन्हसहित मैदानमा उत्रिएको छ भने उत्तमकुमार श्रेष्ठ नेतृत्वको प्यानल ‘कलश’ चुनाव चिन्हसहित प्रतिस्पर्धामा रहेको छ । दुवै पक्षले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेकाले व्यापारी तथा उद्योगीहरूबिच चासो र उत्सुकता बढेको छ ।

उद्योग वाणिज्य संघ निर्वाचन समिति स्रोतका अनुसार निर्वाचन निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गरिने विश्वास दिलाइएको छ । समितिले जनाएको छ, “निर्वाचन शिष्ट र मर्यादित हुनेछ, यसमा कसैले पनि सन्देह लिनु पर्दैन ।”

दीपक कार्की प्यानलले ‘सानो लगानी, ठुलो सम्मान’ नारासहित व्यवसायीहरूको वर्गीकरण, घरभाडा तथा करसम्बन्धी समस्या समाधान, बजार सुरक्षा तथा व्यवस्थापनमा जोड दिएको छ ।

यसका साथै व्यवस्थित पार्किङ, फुटपाथ तथा ढल निकास व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणजस्ता पूर्वाधार विकासका योजना अघि सारिएको छ । पर्यटन प्रवर्द्धनका लागि ‘रात्रिकालीन बजार’ सञ्चालन र विशेष प्याकेजमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना पनि समेटिएको छ । साथै कानुनी परामर्श डेस्क स्थापना र स्वास्थ्य सेवामा सहुलियत दिने प्रतिबद्धता पनि उक्त प्यानलले व्यक्त गरेको छ ।

यता उत्तमकुमार श्रेष्ठ प्यानलले वित्तीय पहुँच विस्तार, सहुलियतपूर्ण कर्जा व्यवस्था र व्यवसायी पलायन रोकथामलाई प्राथमिकतामा राखेको छ ।

यस प्यानलले संघलाई प्रविधिमैत्री बनाउँदै डिजिटल सेवा विस्तार गर्ने, सदस्य सुरक्षा बीमा योजना लागू गर्ने र बर्दिबासलाई कृषि तथा व्यापारिक हबका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ । ‘उज्यालो बर्दिबास’ अभियानअन्तर्गत सीसीटीभी जडान गरी सुरक्षित व्यापारिक वातावरण निर्माण गर्ने, स्थायी प्रदर्शनी स्थल तथा रात्रिकालीन बजार सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।

त्यसैगरी युवा स्वरोजगार प्रवर्द्धन, पर्यटन तथा सम्पदा संरक्षण, औद्योगिक ग्राम निर्माण, तीन तहका सरकारसँग समन्वय र ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने प्रतिबद्धता पनि श्रेष्ठ प्यानलले व्यक्त गरेको छ ।

अध्यक्ष, उपाध्यक्षसहित ८ पदाधिकारी र ११ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि दीपकबहादुर कार्की र उत्तमकुमार श्रेष्ठ प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

दुवै प्यानलले आफ्ना उम्मेदवार सक्षम र योग्य रहेको दाबी गर्दै व्यवसायीहरूको विश्वास जित्ने प्रयास गरिरहेका छन् । अब मतदाताको निर्णयले बर्दिबास उद्योग वाणिज्य संघको आगामी नेतृत्व कसको हातमा जाने भन्ने टुंगो लाग्नेछ ।