• १३ साउन २०८१, आइतबार

पानीको पीडा

blog

नेपाल हिन्दकुश हिमालय पर्वत शृङ्खलामा रहेको हिमाली मुलुक हो । यति सानो भूगोलमा जताततै पानीका स्रोतको उपस्थिति हुने विश्वका धेरै कम मुलुकको सूचीमा नेपाल पर्छ । उत्तरमा हिमालको उपस्थितिले दर्जनौँ ठुला नदी बाह्रैमास नेपाली धर्ती भएर बग्नुले नेपाल पानीमा धनी मुलुक बनेको हो । विश्वका कतिपय मुलुकमा भूगोल ठुलो भएर पनि नेपालको जति पानीको उपलब्धता छैन भने कतिपय मुलुकले सुक्खा अनि मरुभूमिको पीडा भोगिरहनु परेको छ । 

सप्तकोशी, सप्तगण्डकी, कर्णाली, सेती, महाकाली जस्ता ठुलो मात्रामा पानीको स्रोत भएका जलाधार क्षेत्र हुनु नेपाल जस्तो सानो मुलुकमा धेरै अवसर सिर्जना गर्न सक्ने अवस्था हो । नेपालको जलस्रोत नीति तथा जलविद्युत् नीतिले उपलब्ध जलस्रोतको अधिकतम उपयोग गर्दै मुलुकलाई विकसित मुलुकको सूचीमा पुग्ने लक्ष्य लिएको धेरै समय बिते पनि नीति तथा योजना अनुसार काम भने हुन सकेको छैन । 

पानीको सदुपयोग 

नेपालमा साना ठुला गरी एक हजार तीन सयभन्दा बढी खोला, नदी छन् । नेपाल भएर बग्ने ९० प्रतिशत पानी बर्खाको बेला देखिन्छ । बर्खाका बेला देखिएको पानी केवल बगेर सकिने गरेको छ । बर्खाको पानीलाई जलाशयमा भण्डारण गर्ने र हिउँद वा सुक्खा याममा प्रयोग गर्ने विधि र पद्धति नेपालले हालसम्म अवलम्बन गर्न सकेको छैन, जसका कारण नेपालमा पानी प्रशस्त छ तर चाहिने बेला पानी छैन भने जस्तै भएको छ । मनसुन सुरु भएपछि जताततै पानी छरपस्ट बग्ने भएकाले पानीको आवश्यकता कम महसुस गर्ने गरिन्छ, जब हिउँद लाग्छ अनि पानीको अभाव हुन्छ । सुक्खा याममा नेपालका जलविद्युत् आयोजनाले दिने उत्पादन घट्छ, सिँचाइका नहरमा पानी कम बग्छ र खानेपानीका धारामा पनि पानी कम झर्छ । विश्वका विकसित मुलुकले पानीको स्रोत प्रशस्त भएका बेला भण्डारण गर्ने र सुक्खा याममा त्यसको सदुपयोग गर्ने गरेका छन् । 

नेपालले सन् २०२३ को मार्चमा संयुक्त राष्ट्रसङ्घीय विश्व पानी सम्मेलनमा पेस गरेको प्रतिवेदनमा कुल उपलब्ध पानी वार्षिक २२५ अर्ब घनमिटरमध्ये केबल १० प्रतिशत मात्र प्रयोग गर्न सकिरहेको उल्लेख गरेको छ । अन्य विकसित मुलुकले पानीबाट जलविद्युत्, सिँचाइ, माछापालन, जल यातायात, खानेपानी, पर्यापर्यटनमा प्रयोग गरेको देखिन्छ तर नेपालले भने कुल क्षमताको एकदमै न्यून (१० प्रतिशत) मात्र पानीको सदुपयोग गरिरहेको छ । त्यो पनि केवल जलविद्युत्, सिँचाइ र खानेपानीका लागि मात्र । नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा हाल सदुपयोग भइरहेको पानीको ८० प्रतिशत सिँचाइका लागि उपयोग हुने गरेको छ । 

आधारभूत रूपमा स्वास्थ्य तथा सरसफाइका लागि नेपालमा ६१ प्रतिशत जनसङ्ख्याले स्वच्छ पानीको प्रयोग गरिरहेको छन् भने बाँकी जनसङ्ख्याले अहिले पनि खोला, मूलको पानी बिना शुद्धीकरण गरेर खाने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ, जसका कारण विशेष गरी बर्खाका बेला पानीजन्य रोगव्याधिले सताउने गरेको छ । केही वर्ष पहिले जाजरकोटमा झाडा पखालाबाट मात्र ३५० जनाभन्दा बढीको ज्यान गएको थियो, जुन फोहोर पानीका कारण भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले स्वच्छ पिउने पानीको अभाव र गरिबीको प्रत्यक्ष सम्बन्ध हुने जनाएको छ । विशेष गरी दक्षिण एसियाली र अफ्रिकी मुलुकमा यस्तो समस्या देखा पर्ने गरेकाले स्वच्छ पानीको आपूर्तिमा लगानी बढाउन सरकारसँग आह्वानसमेत गरेको छ । 

नेपालले सुक्खा याममा हालसम्म दुई हजार मेघावाट पनि बिजुली उत्पादन गर्न सकेको छैन । जलाशययुक्त आयोजना नभएकै कारण ‘रन अफ द रिभर’ जलविद्युत् आयोजनाबाट हिउँदमा खोला, नदीनालामा पानीको मात्रा घट्दा क्षमता अनुसार उत्पादन हुन सकिरहेको छैन । 

विश्वमा पानीको अवस्था

ग्लोबल वाटर रिपोर्ट २०२२ का अनुसार यस वर्ष चार खर्ब ३६ अर्ब अमेरिकी डलर बराबरको शुद्ध खानेपानीको कारोबार भएको थियो । पछिल्ला वर्षमा पानीको व्यापार ८५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विश्वका आधाभन्दा बढी जनसङ्ख्याले स्वच्छ पानीभन्दा नुनिलो पानीको प्रयोग गर्ने गरेका छन् । उच्च हिमालबाट बग्ने पानी स्वच्छ पानी भएकाले स्वच्छ पानी बग्ने हिन्दकुश हिमाल क्षेत्रका मुलुकले त्यसका यथेष्ट प्रयोग गर्न सकिरहेका छैनन् । लगानी र प्रविधिको विकास गर्न नसक्दा स्वच्छ पानी उपलब्ध भएका कतिपय मुलुकमा पानी आयात हुने गरेको छ । फेरि यो पानी पनि नुनिलो पानीलाई नै शुद्ध गरिएको हुन्छ । विशेष गरी युरोप, अमेरिकी मुलुकका बासिन्दाले दैनिक प्रयोग गर्ने पानीको मात्रा पनि औसतमा अल्पविकसित मुलुकभन्दा बढी रहेको छ । सबैभन्दा बढी पानीको प्रयोग गर्ने मुलुकमा चीन रहेको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व पानी सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रमा चीनले वार्षिक रूपमा ३६२ ट्रिलियन ग्यालेन प्रयोग गर्ने गरेको छ भने दोस्रो नम्बरमा अमेरिकाले २१६ ट्रिलियन ग्यालेन पानी प्रयोग गर्ने गरेको छ । 

त्यसै गरी ब्राजिलले ९५ ट्रिलियन ग्यालेन, रुसले ७५ ट्रिलियन ग्यालेन, भारतले ३० ट्रिलियन ग्यालेन, बेलायतले २० ट्रिलियन ग्यालेन, क्यानडाले १९ ट्रिलियन ग्यालेन र अस्ट्रेलियाले १२ ट्रिलियन ग्यालेन पानी खाना, स्वास्थ्य तथा सरसफाइका लागि प्रयोग गर्ने तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्याको स्थिति र पानीको प्रयोगको अनुपात हेर्दा दैनिक प्रतिव्यक्ति पानीको प्रयोग सबैभन्दा बढी अमेरिकामा र सबैभन्दा कम भारतमा रहेको छ । क्यानडामा प्रतिव्यक्ति प्रतिदिन ३२९ लिटर पानीको प्रयोग भएको पाइएको छ, जसमध्ये ३० प्रतिशत शौचालय, ३५ प्रतिशत नुहाउन तथा सरसफाइ, १० प्रतिशत भान्सा, २० प्रतिशत लुगाफाटो धुन र पाँच प्रतिशत अन्य सरसफाइमा प्रयोग हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको छ । 


विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा पानीको स्रोत संसारमै बढी भएको मुलुकमा ब्राजिल रहेको छ भने दोस्रो ठुलो पानीको स्रोत भएको मुलुक रुस देखाइएको छ । तेस्रो ठुलो मुलुक क्यानडा, चौथोमा इन्डोनेसिया, पाँचौँमा चीन, सातौँमा अमेरिका र नवौँ  स्थानमा भारत रहेको छ । पानीको स्रोत नभएको सुक्खाग्रस्त मुलुकमा पहिलो नम्बरमा इजरायल रहेका छ भने दोस्रो नम्बरमा जोर्डन रहेको छ । त्यसै गरी पानीको स्रोत नभएको मुलुकको सूचीमा कतार, बहराइन, संयुक्त अरब इमिरेट्स, माल्टा, लिबियालगायतका देश रहेका छन् । यी मुलुकमा पिउन, सरसफाइ तथा स्वास्थ्यका लागि समुद्रको नुनिलो पानी शुद्धीकरण गरेर प्रयोग गर्ने गरिएको छ । यी मुलुकलगायत अन्य सुक्खाग्रस्त मुलुकमा पानीको आपूर्ति गर्नका लागि सन् २०३० सम्ममा शुद्धीकरण गरेको पानीको व्यापार पाँच खर्ब २० अर्ब ४० करोड अमेरिकी डलर प्रतिवर्ष पुग्ने अनुमान गरिएको छ । 

दोस्रो धनी देश मिथक मात्रै 

नेपाली समाजमा पानीको उपलब्धतालाई आधार मान्दा ब्राजिल पछिको दोस्रो धनी मुलुक नेपाल हो भन्ने कथन खुब लोकप्रिय बनेको छ । विश्वमा अरू मुलुकको पानीको स्रोतको उपलब्धता, प्रयोगलाई हेर्दा यो कथन वास्तविकता होइन कि मिथक साबित भएको छ । विश्वमा जलस्रोतको उपलब्धताको सूची हेर्दा नेपाल ७६ औँ धनी मुलुकमा पर्छ । नेपालको जल उपलब्धता हेर्दा प्रतिव्यक्ति सात हजार ४०० घनमिटर हुन आउँछ । यो तथ्याङ्कले धेरै जसो युरोपेली, अमेरिकी, दक्षिण अफ्रिकी मुलुक र एसियाका पनि चीन, भारतभन्दा पछिल्लो पङ्क्तिमा नेपालको स्थान रहेको छ । 

तीसको दशकमा नेपालको जलविद्युत्को क्षमता ८३ हजार मेगावाट भएको अध्ययनले देखाएको समयमा यो कथन ठिकै भए पनि असीका दशकमा आइपुग्दा छिमेकी मुलुक चीनले एउटै थ्रि गर्जेज जलविद्युत् आयोजनाबाट २२ हजार ५०० मेगावाट बिजुली उत्पादन गरेको छ । सन् २०३० सम्ममा चीनले ९० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसै गरी दोस्रोमा क्यानडा सबैभन्दा बढी जलविद्युत् उत्पादन गर्ने देश बनेको छ भने तेस्रो ब्राजिल बनेको छ । चौथोमा अमेरिका, पाँचौँमा रुस र छैठौँमा भारत रहेको छ । यी मुलुकले हालसम्म ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गरिसकेका छन् । त्यसैले ब्राजिल पछिको नेपाल दोस्रो धनी देश हो भन्ने कथन मिथक मात्रै बन्न पुगेको छ । 

कसरी उपयोग गर्ने त ?

बर्खाका चार महिनामा नेपालमा ८० प्रतिशत पानी देखिन्छ । त्यसपछिका आठ महिना नेपालमा पानीको अभाव हुने गरेको छ । पानीको समान वितरण पनि छैन नेपालमा । पश्चिमी भेगको तुलनामा पूर्वी भेगमा बढी पानी पर्छ भने पश्चिमी भेगमा अधिकांश समय सुक्खा नै हुने गरेको छ । बर्खाको पानीलाई अधिकतम सदुपयोग गर्न नेपालले जलाशययुक्त जलविद्युत् आयोजना बनाउनुको अर्को विकल्प छैन । यसको असल उदाहरण इन्द्र सरोवर हो । त्रिशूली जलाधार क्षेत्रमा वर्षभरि बग्ने पानीलाई इन्द्र सरोवरमा जम्मा पारिन्छ । सुक्खा याममा बिजुली उत्पादन गर्ने काममा प्रयोग गर्ने गरिएको छ । केही वर्षअघिसम्मको लोड सेडिङका बेला नेपालले यही सरोवरको पानीलाई सदुपयोग गरी लोड सेडिङको मात्रा घटाइएको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्वसचिव दवेन्द्र कार्कीका भनाइमा नेपालले बर्खाको पानी हिउँदसम्म सदुपयोग गर्ने हो भने इन्द्र सरोवर जस्ता जलाशययुक्त जलविद्युत् आयोजना नबनाई सुक्खै छैन ।  यस्ता आयोजनामा लगानी ठुलो मात्रामा लाग्ने भएकाले पानी भण्डारण गर्ने मात्र नभई जलविद्युत्, सिँचाइ, माछापालन, पर्यापर्यटनलाई टेवा पुग्ने गरी बहुउद्देश्यीय बनाउनु आवश्यक भएको छ । अनि मात्र ठुलो लगानीको प्रतिफल पानीको प्रयोग विभिन्न क्षेत्रमा सदुपयोग गरेर उठाउन सकिन्छ । विश्वमा कतिपय मुलुकले जल यातायातबाट पनि प्रशस्त फाइदा लिएका छन् । नेपालमा पनि जलाशययुक्त योजना निर्माण गरी जल यातायातको फाइदा लिन सकिने धारणा जलस्रोतविद् सूर्यनाथ उपाध्यायको छ । 

उपाध्यायका भनाइमा नेपालको कि त बिजुली कि त सिँचाइ भनेर मात्र आयोजना निर्माण गर्ने प्रवृत्ति नै गलत छ । बहुउद्देश्यीय आयोजनाको रूपमा पानीको प्रयोग गर्न नसके मुलुकको आर्थिक विकासका लागि पानीको योगदानको अवमूल्यन भइरहन्छ । 

उत्तरतिरबाट बग्ने नदी र दक्षिणमा खाद्यन्नको भण्डार तराई भएकाले पहाडी क्षेत्रमा जलाशय निर्माण गरी वरपरका लामो दूरीसम्म तराईमा नहर प्रणाली विकास गरी कृषिमा आत्मनिर्भर बन्न सक्ने शतप्रतिशत आधार हुँदाहुँदै पनि त्यसतर्फ काम नभएको देख्दा नेपालले अझै कृषि उत्पादनमा पनि परनिर्भरतामा बाँच्नु पर्ने हो कि भन्ने आशङ्का उब्जिन थालेको छ । विद्यमान पानीको स्रोतको उपयोग गर्न नेपालमा नीतिको कमी र अभाव नभएको तर कार्यान्वयनमा जहिले पनि कमीकमजोरी रहने गरेको जलस्रोतविद् अजय दीक्षितको भनाइ छ । 

किन विवादित ठुला आयोजना ? 

नेपालमा प्रजातन्त्र प्राप्तिपछि बन्न लागेको अरूण तेस्रोमा देखिएको विवादले सडकदेखि सदनसम्म हल्लायो । नेपालको हितमा बन्ने सो आयोजना धेरै लामो समयसम्म विवादकै कारण बन्न सकेन । पश्चिम सेती जलविद्युत् आयोजना अस्ट्रेलिया, चिनियाँ कम्पनी हुँदै झन्डै अढाइ दशकपछि भारतको हातमा परेको छ । यो आयोजना पनि निर्माण नहुँदै विवादमा प-यो, अहिलेसम्म बन्न सकेको छैन । बुढीगण्डकी आयोजना बन्ने निश्चितता अझै हुन सकेको छैन । 

विकसित मुलुकले पानी जलविद्युत्, सिँचाइ, माछापालन, जल यातायात, खानेपानी, पर्यापर्यटनमा प्रयोग गरेको देखिन्छ तर नेपालले भने कुल क्षमताको एकदमै न्यून (१० प्रतिशत) मात्र पानीको सदुपयोग गरिरहेको छ । त्यो पनि केवल जलविद्युत्, सिँचाइ र खानेपानीका लागि मात्र ।  

पूर्वसचिव कार्कीका भनाइमा नेपालमा जलउपयोगको प्राथमिकता निर्धारण हुन नसक्नु नै ठुलो दुर्भाग्य हो । नेतृत्व फेरिँदै गर्दा आयोजनाको प्राथमिकता पनि फेरिने प्रवृत्तिले न पूर्वको तमोर बन्न सक्यो न पश्चिमको सेती बन्न सक्यो । लामो समय जलस्रोत मन्त्रालयमा रहेर काम गर्नुभएका पूर्वसचिव उपाध्याय पनि कार्कीसँग सहमत छन् । उपाध्याय तर्क गर्नु हुन्छ, “ठुलो आयोजनामा ठुलो लगानी चाहिन्छ । अनि स्वार्थी समूहको ठुलो चलखेल हुन्छ । अनि निर्माण हुने टुङ्गो नहुँदै विवादमा पर्छ ।” 

क्षेत्रीय सहयोग आवश्यक 

संयुक्त राष्ट्रसङ्घीय विश्व पानी सम्मेलनका अवसरमा बङ्गलादेशले चीन, नेपाल, भारत र बङ्गलादेश मिलेर क्षेत्रीय रूपमा पानी उपयोगको योजना निर्माण गर्नुपर्ने प्रस्ताव राख्यो । हिमालबाट बगेको पानीले नेपाल, भारतमा मात्र होइन, क्षति वा फाइदा दुवै बङ्गलादेशसम्म हुने भएकाले क्षेत्रीय रूपमा पानी उपयोगको एकीकृत योजना निर्माण गरेर विश्वमञ्चमा पानी सुरक्षाको एजेन्डा उठाउनु पर्ने उसको माग थियो । लामो समय नेपाललगायत दक्षिण एसियाली मुलुकको जलस्रोतका विषयमा अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाको नेपालका लागि आवासीय प्रतितिनिधि डा. मनोहरा खड्का पनि नेपाललगायत छिमेकी मुलुकले पानी उपयोगको साझा योजना निर्माण गरी काम गर्दा सबै मुलुकलाई फाइदा हुने धारणा राख्नु हुन्छ । 

प्रविधिमा उच्च विकास गरेको मुलुकहरूले भविष्यमा पानीको सङ्कट पर्न सक्ने आकलन गरी त्यसका लागि राजनीति चलाइरहेका छन् । अन्य प्राकृतिक स्रोतभन्दा जलस्रोतको आवश्यकता मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले स्वच्छ पानीका स्रोत भएका मुलुकलाई बढी संवेदनशील दृष्टिले हेरिन थालिएको छ । यस्तो अवस्थामा दक्षिण एसियाली मुलुकको साझा अवधारणा निर्माण गरी अरू महादेशका मुलुकसँग साझेदारी गर्नु पर्नेमा पानी सम्मेलनमा जोड दिइएको थियो । 

थपिँदै चुनौती 

पछिल्ला दिनमा जलवायु परिवर्तनले प्रत्यक्ष रूपमा पानीका मूल र उच्च हिमाली क्षेत्रलाई बढी प्रभाव पारिरहेको छ । यही गतिमा विश्वको तापव्रmम वृद्धि हुँदै जाने हो भने आगामी सन् २०५० को दशकसम्म हिमालको एक तिहाइ हिउँ पग्लिन सक्ने र हिमाल काला पहाडमा परिणत हुने प्रक्षेपण विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानले देखाएको छ । नेपाल जस्तो पहाडी भूभाग भएको मुलुकले बर्खाका बेला बाढी पहिरो, डुबानले नोक्सान बेहोर्ने र हिउँदका बेला हिमाल काला हुने परिस्थिति सिर्जना हुने हो भने नेपालका लागि कालान्तरमा निकै भयावहको स्थिति आउन सक्ने बुझाइ डा. मनोहर खड्काको छ । हाल निर्माण गरिएका जलविद्युत् आयोजना र सिँचाइ प्रणालीमा पानी बगेन भने नेपालको अवस्था कस्तो होला ? कल्पना पनि गर्न नसकिने तर्क लामो समय जलवायु परिवर्तनमा काम गर्नुभएका पूर्वसचिव डा. विश्वनाथ ओलीको छ । त्यसैले कालान्तरमा जलवायु परिवर्तनको प्रत्यक्ष असर पानीका स्रोतमा पर्ने भएकाले पानीविहीन हुनुपर्ने अवस्था सिर्जना नहुनेतर्फ बेलैमा सोच्न जरुरी छ ।