• २८ असोज २०८२, मङ्गलबार

धुर्कोटमा जनयुद्ध र सहिदको सम्झनामा पार्क

blog

धुर्कोट गाउँपालिकाको ‘जनयुद्व पार्क’ । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), असोज २८ गते । धुर्कोट गाउँपालिकाले दस वर्षे सशस्त्र जनयुद्वको सम्झनामा ‘जनयुद्व पार्क’ र गाउँपालिका भित्रका सहिदहरूको सम्झनामा ‘सहिद पार्क’ निर्माण गरेको छ । यी दुई पार्क अहिले आन्तरिक पर्यटकहरूको रोजाइँमा बन्दै गएका छन् । 

धुर्कोट गाउँपालिकाले भरतपुर महानगर र लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा जनयुद्ध पार्क निर्माण गरेको छ । धुर्कोटले तीन वर्षअघि भरतपुर महानगरपालिकासँग भगेनी सम्बन्ध विस्तार गरेको थियो । सोही सम्बन्धमा कारण भरतपुर महानगरपालिकाबाट प्राप्त ४० लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र गाउँपालिकाको २० लाख रुपियाँ गरेर ८० लाखको लागतमा ‘जनयुद्व पार्क’ पार्क निर्माण गरिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो । 

त्यस्तै धुर्कोटमा जन्मिएर तत्कालिन शासन व्यवस्थाको विरुद्धमा लडेका शमशेर बहादुर खत्री, खिम विक्रम नेपाली र जेदुराम भण्डारीको स्मृतीमा पालिकाले झण्डै दुई करोड लगानीमा पार्क निर्माण गरेको छ । गाउँपालिका प्रमुख पोख्रेलले देशको व्यवस्था परिवर्तनको जनयुद्व र देश र जनताका लागि आफ्नो बलिदान दिने सहिदको सम्मानमा पार्क निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“इतिहास र पुर्खाहरूबाट हामीले धेरै सिक्नुपर्ने छ । पार्कले इतिहास र सम्मानसहित पर्यटकीय संरचनाको रूपमा काम गरेको छ ।” 

धुर्कोट गाउँपालिका–४, बर्बोटको सानो पाखेरी र सुख्खा खुलखुले डाँडोमा अहिले आकर्षक पार्क निर्माण भएपनि आन्तरिक पर्यटकको दैनिक घुइँचो लाग्ने गरेको छ । पार्कका कार्यरत लक्ष्मण भण्डारीका अनुसार दैनिक सयदेखि डेढ सय जनाले पार्कको अवलोकन गर्ने गरेका छन् । दसैँतिहार, नयाँ वर्ष लगायतको समयमा ४९० जनाले सम्मले टिकट लिएको भण्डारीले जानकारी दिनुभयो । पार्क बिहान ६ बजेबाट लाइटिङ भएकाले बेलुका १० बजेसम्म खुला रहन्छ ।

पार्कभित्र बनाइएका विभिन्न बगैँचा, फुटपाथ, पानीको फोहोरा, बाघ, धुर्कोट दरबार लगायतका वस्तुहरूको प्रतिमा, लाइटिङ लगायतका संरचनाले पार्कलाई मनमोहक बनाएको छ । पार्कभित्रै दुई वटा प्रतिक्षालय समेत निर्माण गरिएको छ भने अधिकाशं ठाउँमा दुबो लगाइएको छ । जसका कारण स्थानीय तथा धुर्कोट बाहिरबाट पारिवारीक, संस्थागत र व्यक्तिगत रूपमा पार्कमा आउनेहरूको सङ्ख्या उल्लेख्य रहेको छ ।  

पार्कमा बालबालिकाहरूका लागि दुई वटा साना र वयस्कहरूका लागि एउटा ठुलो पिङ निर्माण गरिएको छ । पार्कभित्र धुर्कोटको नगदेबालीको रूपमा रहेको सुन्तलाको प्रतिमा निर्माण गरिएको छ । त्यसैगरी धुपी लगायतका विभिन्न बिरुवाहरू लगाइएको छ । पार्कमा गेट, तारबार, गार्डरुम, टिकट काउन्टर, शौचालय, शहीदको शालिक राख्ने ठाउँ, फुटपाथमा इन्टरलक ब्लक लगाउने, रङरोगन लगायतका संरचना निर्माणका समेत काम भएका छन् । भित्तामा विभिन्न आकर्षक ढङ्गले चित्रहरू समेत बनाइएको छ । पार्कमा जाने पर्यटकको सवारी साधन व्यवस्थापनका लागि ५० लाख लागतमा पार्किङ गर्न मिल्नेगरी ढलान गरिएको छ । त्यसैगरी पार्कको गेटमा शहीदहरूको नामावली समेत राखिएको पार्क संरक्षण समितिका अध्यक्ष गोपाल कुँवरले जानकारी दिनुभयो । 

पार्क निर्माणका लागि आर्थिक वर्ष २०७६-०७७ मा एक करोड रुपियाँ, २०७७-०७८ मा ४० लाख रुपियाँ, २०७८-०७९ मा २० लाख तथा २०७९-०८० मा ६० लाख रुपियाँ गरेर हालसम्म दुई करोड ३० लाख रुपियाँभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका सब–इन्जिनियर कृष्णबहादुर पहराईले जानकारी दिनुभयो । पार्कभित्रै शहीदको सम्मानस्वरूप मुर्ति राख्ने संरचना र त्यसमाथि शमशेरबहादुर खत्री, खिमविक्रम नेपाली र जेदुराम भण्डारीको शालिक राखिएको छ । 

महिमान सिंह र कौशिल्यादेवी खत्रीको साइलो छोराको रूपमा वि.स. १९७९ सालमा साविकको मर्भुङ्ग गाविसमा शमशेर बहादुरको जन्म भएको थियो । भारतबाट म्याट्रिक पास गरेका खत्री २०१८ सालमा साविकको धुुर्कोट रजस्थलमा बसाइँ सर्नुभएको थियो । प्रजातान्त्रिक आन्दोलको क्रममा २०१९ साल जेठ १५ गते अम्मरपुरमा सभा गरिरहेको अवस्थामा राजा महेन्द्रको सुरक्षा फौजद्वारा उहाँको गोली हानी हत्या भयो । हत्यापछि टाउको काटेर उहाँकै सहयोगी दलबहादुर महतलाई बोकाएर गुल्मी जिल्लाभर परिक्रमा गराइएको थियो । उहाँको स्मृतीमा कांग्रेसले सदरमुकाम तम्घासमा शालिक स्थापना समेत गरेको छ । शमसेर बहादुरका नाति शिवबहादुर खत्री २०७४ सालमा धुर्कोट गाउँपालिकामा उपाध्यक्ष हुनुभएको थियो ।

खिमविक्रम नेपाली धुर्कोट गाउँपालिकाको पहिलो शहीद हुनुहुन्छ । आन्दोलनकै क्रममा पुर्कोेटमा तत्कालिन राज्यपक्षले गोली हानी नेपालीको हत्या गरेका थिए । तर, उनको जन्म र मृत्यु मिति भने खुलेको छैन । उहाँको नामबाट गाउँपालिकाले सडकको नाम समेत नामाकरण गरेको छ । गाउँपालिकाकै वडा नम्बर ५, वस्तुका जेदुराम भण्डारीलाई पनि करिब ३५ वर्षको उमेरमा तत्कालिन सेनाले गोली हानी हत्या गरेको थियो । उहाँ माओवादी निकट किसान सङ्घ (क्रान्तिकारी)मा आबद्ध भई माओवादी आन्दोलनको पूर्णकालिन कार्यकर्ता रहनु भएको थियो ।