• २९ असोज २०८२, बुधबार

मतदाता नामावलीमा अनलाइनबाट यसरी नाम दर्ता गर्नुहोस्

blog

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई

काठमाडौँ, असोज २९ गते । २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताले अनलाइनमार्फत सजिलै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ । 

आयोगका सहसविच तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली नागरिक भइसकेका तथा मतदानका लागि योग्य भइसकेका कोही पनि व्यक्ति मतदानको अधिकारबाट नछुटुन् भन्ने उद्देश्यका साथ नाम दर्ताको अवधि कात्तिक मसान्तसम्मको लागि थप गरिएको छ । 

उहाँले निर्वाचन आयोगको वेबसाइटमा राखिएको लिङ्कमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो । 

प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचन आयोगले वेबसाइटमा एउटा लिङ्क राखिदिएको छ । त्यसमा क्लिक गरेर आफू बसेकै ठाउँबाट घरबाटै होस् या कुनै आफ्नो अनुकूल पर्ने ठाउँबाट आवेदन गर्न सक्नुहुनेछ । त्यो आवेदनमा नाम, ठेगाना लगायतका सबै विवरण, त्यहाँ मागिएका विवरणहरु भर्नुपर्ने हुन्छ ।” तत्पश्चात् आफूलाई अनुकूल पर्ने निर्वाचन कार्यालयबाट बायोमेट्रिक दिन सकिने उहाँको भनाइ छ । 

भिडियो : मनोजरत्न शाही

देशभरि अहिले नयाँ मतदाता सङ्कलनको काम भइरहेको छ । नयाँ मतदाताले भोटर लिस्टमा कसरी आफ्नो नाम राख्न पाउँछ ?

यो निर्वाचन विशेष अवस्थाको निर्वाचन भएको कारणले गर्दाखेरी त्यसमा हामीले नियमितभन्दा थप प्रावधानहरु कार्यान्वयन गर्‍यौं । मतदाता नामावली ऐन, २०७३ को दफा ४ मा संशोधन गरेर त्यसमा साबिकमा भएको व्यवस्था चाहिँ निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम सङ्कलनको काम स्थगित गरिनेछ भन्ने व्यवस्था उल्लेख भएकोमा यो नयाँ अवस्थामा हुन लागेको निर्वाचन खासगरी, कोही पनि युवाहरु जो चाहिँ मतदाता हुन योग्य हुनुहन्छ । नेपाली नागरिक भइसक्नुभएको छ, त्यस्तो व्यक्तिहरु कोही पनि नछुट्नुहोस् भन्नका लागि हामीले नयाँ व्यवस्था गरेर कात्तिक मसान्तसम्मको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि थप गरेका छौं । त्यसमा धेरै काम केही पनि गर्न पर्दैन, निर्वाचन आयोगले वेबसाइटमा एउटा लिङ्क राखिदिएको छ ।

त्यसमा क्लिक गरेर आफू बसेकै ठाउँबाट घरबाटै होस् या कुनै आफ्नो अनुकूल पर्ने ठाउँबाट आवेदन गर्न सक्नुहुनेछ । त्यो आवेदनमा नाम, ठेगाना लगायतका सबै विवरण, त्यहाँ मागिएका विवरणहरु भर्नुपर्ने हुन्छ । त्यो भरिसकेपछि त्यो आवेदनकै अन्तिममा उहाँ कुन अफिसमा गएर बायोमेट्रिक भन्छौं हामी, दुई खालको जैविक विवरण दिएका छौं । एउटा फोटो र अर्को औंठाछापका लागि कुन अफिसमा जान चाहनुहुन्छ ? भनेर सोधिन्छ उहाँले चाहिँ हाम्रा सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयहरु छन् । अर्को हिसाबमा भन्दा प्रत्येक जिल्लामा कम्तीमा एउटा कार्यालय छ । त्यो कार्यालयमध्ये आफूलाई पायक पर्ने ठाउँमा, स्थायी ठेगाना भएकै ठाउँमा जानु पनि पर्दैन । आफूलाई पायक पर्ने स्थानको निर्वाचन कार्यालयमा जान पाउनुहुन्छ । निर्वाचन कार्यालय रोजिसकेपछि कुन मितिमा तपाई त्यहाँ जानुहुन्छ ? भनेर सोधिन्छ । अनि आफूलाई जान अनुकूल परेको मिति जुन पहिल्यै अकुपाइ भइसकेको छैन ।

त्यो मितिमध्येबाट रोजेर त्यो मितिमा त्यहाँ गएर आफ्नो बायोमेट्रिक दिन सक्नुहुन्छ । बायोमेट्रिक दिँदाखेरी आफ्नो विवरण पहिल्यै भरेको कारणले त्यसमा धेरै समय लाग्दैन, छोटो समयमा नै आफ्नो विवरणहरु दिएर फर्किन पाउनुहुन्छ । र यो व्यवस्थालाई प्रयोग गरेर नागरिकहरु जो योग्य हुनुहुन्छ, उहाँहरुले यो अवसरको फाइदा लिएर, आफू योग्य मतदाता भएर फागुन २१ को निर्वाचनमा मतदान गर्नको लागि तयारी भएर बस्न म सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु । 

मतदाता हुनको लागि १८ वर्ष पुगेको हुनपर्छ होला । यसमा उसले नागरिकता, राष्ट्रिय परिचयपत्र लिएको हुनुपर्ने कि नपर्ने ? यो पनि स्पष्टसँग बताइदिनुस् । 

धन्यवाद ! संविधानमा उल्लेख भएको छ, १८ वर्ष पुगेको नागरिकलाई मतदानको अधिकार हुनेछ । हामीले फागुन २१ मा गर्ने निर्वाचनका लागि जो व्यक्ति फागुन २० गतेसम्म १८ वर्ष पुगिसक्नुभएको छ, नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिमध्येको कुरा गरिरहेको छु मैले । १८ वर्ष फागुन २० मा पुग्नुहुन्छ, उहाँहरुले मतदान गर्न पाउनुहुन्छ । हामीले फागुन २० गतेसम्मै मतदाता नामावलीमा नाम सङ्कलन गरिराख्यौं भने त्यसले तयारी पुग्दैन । हामीले फागुन २० गतेभन्दा अगावै सम्बन्धित मतदान केन्द्रसम्म मतदाताको नामावली पठाउनुपर्नेछ । त्यसकारणले गर्दा, निर्वाचन आयोगले विगतदेखि नै निर्णय गरेर एउटा नयाँ प्रावधान सुरु गरेको छ । १६ वर्ष पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेको व्यक्तिले मतदाता नामावलीमा नाम लेखाउन पाउने तर, मतदान गर्नको लागि अब हामीले फागुन २१ गते चुनाव हुने भएकोले फागुन २० सम्म १८ वर्ष पुगेको भन्यौं । यही कुरा वैशाख २० गते चुनाव हुने भएको भए वैशाख १९ सम्म १८ वर्ष पुगेको भन्थ्यौं होला ।

निर्वाचनको मितिदेखि एक दिन अगाडिसम्म १८ वर्ष पुगेकोले मतदान गर्न पाउने भएको हुनाले जसको मतदाता नामावलीमा नाम छ, त्यसमध्ये पनि आयोगले सटिङ (छनाेट) गरेर मतदाता नामावलीमा नाम त १६ वर्ष पुगेको व्यक्तिको पनि हुने भयो । त्यहाँ १६, १७ वर्ष पुगेका व्यक्तिको नाम पनि छ । तर, संविधानले १८ वर्ष पुगेपछि मतदान गर्न पाउने भनेको कारणले निर्वाचन आयोगले मतदाताको नाम सटिङ गर्छ र जो चाहिँ फागुन २० गतेसम्म १८ वर्ष पुग्नुहुन्छ, उहाँहरुको नाम मतदान केन्द्रमा पठाइन्छ । त्योभन्दा अरुको नाम चाहिँ पुग्दैन त्यहाँ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।