सन्तोष सुवेदी
कास्की, असोज २९ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अपरेसन ३६५’ सुरु गरेको छ । मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनी प्रदूषण गर्ने, समाजलाई आतङ्कित एवम् शान्ति सुव्यवस्थामा खलल पार्नेलगायत गतिविधि बढेको जनगुनासो आएपछि यो अभियान सुरु गरिएको जनाइएको छ ।
प्रहरी असोज २७ गतेदेखि यो अभियान सुरु गरेको हो । यो अभियान निरन्तर चल्ने प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीले त्यसप्रकारका मोटरसाइकल पनि नियन्त्रणमा लिई कानूनी कारबाही सुरु गरेको जनाएको छ । सवारीसाधन पूर्ववत् असली स्वरुपमा चलाउन तथा मोडिफाइ गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कशप, रिकण्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न–नगराउन प्रहरीले अनुरोध गरेको छ ।
यस्तो पाइए मोटरसाइकल चालक र सवारीसाधनसमेत नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने कास्की प्रहरीले जनाएको छ ।