• २९ असोज २०८२, बुधबार

तस्बिरमा अन्नपूर्ण आधार शिविर

blog

अन्नपूर्ण आधार शिविर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, असोज २९ गते ।
अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि उपयुक्त मौसम भएकाले पर्यटकको निकै भिड लागेको छ । दसैँ तिहार बिदा र राम्रो मौसमको सदुपयोग गर्दै धेरै पर्यटक यतिखेर अन्नपूर्ण पदयात्रामा निस्किएका छन् ।  

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पदयात्राका लागि निकै राम्रो मौसम छ । पदयात्रीका कारण पदमार्ग र आधार शिविरमा निकै रमाइलो बनेको छ ।


अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्म २२ किलोमिटर सवारीसाधन र त्यसपछि मौरिस हर्जोग पदमार्गको २१ किलोमिटर पदयात्रा पश्चात चार हजार ५० मिटर उचाइमा रहेको सुन्दर पञ्चकुण्ड तालमा पुग्न सकिन्छ ।

पर्यटकहरु चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरसम्म पुग्ने गरेका छन् । दसैँ तिहार बिदा र मौसम अनुकूल भएपछि आधार शिविरमा आन्तरिक पर्यटकहरुको निकै भिडभाड भएको अन्नपूर्ण गाउँपालिका ५ शिखका युवा तथा पर्यटनकर्मी सुरेन गुरुङले बताउनुभयो ।

पर्यटकका कारण पदमार्ग र आधार शिविरमा खुलेका रेष्टुरेण्टहरु भरिभराउ भएका छन् । पर्यटकको सुविधाका लागि हुमखोलादेखि  आधार शिविरसम्मका विभिन्न स्थानहरुमा स्थानीय युवाहरुले गाउँपालिकाबाट अनुमति लिएर होटल तथा रेष्टुरेण्ट सञ्चालन गरेका छन् ।


नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुमखोलाबाट दुईदिनमा सहजै आधार शिविर पुग्न सकिन्छ । छोटो दूरी र रोमाञ्चक यात्रा भएकाले आन्तरिक पर्यटको रोजाईँमा यतिखेर आधार शिविर बनेको छ ।

मिस्त्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रा गर्दा झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेष्टुरेण्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मत सम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ । पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पदयात्रालाई रोमाञ्चक बनाएको छ ।