• २९ असोज २०८२, बुधबार

भियतनामसँग हारेसँगै नेपालको एसिया कप सपना समाप्त

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भियतनामका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असोज २९ गते । एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि भियतनामसँग पराजित भएपछि नेपालको एसिया कप खेल्ने सपना सकिएको छ ।

भियतनामको थोङ नाट स्टेडियममा मङ्गलबार राति भएको ‘होम म्याच’ मा नेपाल भियतनामसँग १–० गोलले पराजित भयो ।

भियतनामले नेपालको आत्मघाती गोल सहयोगमा बाजी मारेको हो । पाँचौँ मिनेटमा नेपालका रक्षक सुमन श्रेष्ठबाट बल बचाउने क्रममा आत्मघाती गोल हुन पुगेको थियो । 

यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो । भियतनामसँगको दोस्रो हारसँगै नेपालको एसिया कप यात्रामा पूर्णविराम लागेको हो ।

भियतनामविरुद्ध नेपालको दोस्रो लेग नेपालमै हुनुपर्ने थियो । तर काठमाडौँको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्नका लागि एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले ‘होम म्याच’ पनि भियतनामकै मैदानमा खेलेको हो । 

छनोटको समूह ‘एफ’ मा रहेको नेपालले चार खेलमा लगातार हार खेपेको छ । यसअघि नेपाल पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो । 

जितसँगै भियतनाम चार खेलबाट नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ । मलेसिया १२ अङ्कसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लाओसको तीन अङ्क छ भने नेपाल अङ्कविहीन छ ।  समूहको शीर्ष टोली सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा छनोट हुनेछ । 

यसैबिच भियतनामविरुद्धको खेलसँगै नेपालका रक्षक रोहित चन्दले नेपालका लागि अन्तर्राष्ट्रिय एक सयौँ खेल पूरा गर्नुभएको छ । 

यस्तो उपलब्धि हात पार्ने रोहित दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि सय खेलको कोशेढुङ्गा पार गर्ने कप्तान एवं गोलरक्षक किरणकुमार लिम्बू हुनुहुन्छ ।