• २९ वैशाख २०८१, शनिबार

प्लेअफमा नेपालले यूएईसँग खेल्ने

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १३ गते । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।

सुपर सिक्सबाट बाहिरिएको अमेरिका र आयरल्यान्डबीच अर्को खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ को मङ्गलबार खेलिएको खेलपछि सुपर सिक्स र प्लेअफ खेल्ने  टोलीको टुङ्गो लागेको हो । मंगलबार नै समूह चरणका सबै खेल सकिएका छन् । 

समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डढ्स र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल चौथो र अमेरिका पाँचौँ बन्दै प्लेअफमा पुगेको हो ।

नेपाल समूह चरणको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो । अन्तिम तथा चौथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो । 

यस्तै समूह ‘बी’ बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेको छ । यस समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौँ बन्दै प्लेअफमा पुगेको हो । 

प्लेअफमा पुग्ने चार  टोलीले सातौँ देखि १०ओं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले युएईसँग आइतबार खेल्नेछ । प्लेअफको पहिलो खेलको विजेता टोलीले सातौँ र आठौँ वरियताका लागि पुनः खेल्नेछन् । पराजित हुने टोलीबीच नवौँ र १०औँ स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 

यस्तै सुपर सिक्स पुगेका प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय  विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।