• १६ वैशाख २०८३, बुधबार

ब्याटिङमा अपेक्षित प्रदर्शन हुन नसक्दा हार व्यहोर्नुपर्‍योः सोमपाल

blog

काठमाडौँ, वैशाख १६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले ब्याटिङमा राम्रो सुरुवात गर्न नसक्दा टोलीले हार व्यहोर्नुपरेको स्वीकार गर्नुभएको छ । खेलपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै सोमपालले विपक्षीले प्रस्तुत गरेको लक्ष्य पछ्याउन सकिने भए पनि ब्याटिङ युनिटको कमजोरीका कारण नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताउनुभयो ।

नेपाली टोलीले बलिङतर्फ विपक्षीलाई मध्यम योगफलमा रोक्न सफल भए पनि ब्याटिङमा अपेक्षित साझेदारी हुन सकेन । विकेट जोगाउने रणनीतिमा रनको गति सुस्त हुनु हारको अर्को कारण रहेको उहाँको विश्लेषण छ । सोमपालले प्रतिकूल मौसमले खेलमा प्रभाव पारेको उल्लेख गर्दै दीपेन्द्र सिंह ऐरीको प्रदर्शनको प्रशंसा गर्नुभयो । समर्थक टोलीको १२ औँ खेलाडी भएको बताउँदै उहाँले आगामी दिनमा पनि रङ्गशालामा आएर हौसला प्रदान गर्न आग्रह गर्नुभयो ।

यसैबिच, ओमान क्रिकेट टोलीका कप्तान जतिन्दर सिंहले जितको श्रेय पूर्वतयारी र स्पष्ट रणनीतिलाई दिनुभएको छ । नेपालविरुद्धको खेलपछि कुरा गर्दै कप्तान सिंहले पहिले ब्याटिङ गरेर बोर्डमा सम्मानजनक योगफल खडा गर्ने योजना सफल भएको बताउनुभयो । सिंहले यस खेलमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्नुभएको छ । उहाँले आफ्नो यो सफलता र अवार्ड पत्नीलाई समर्पण गर्नुभयो ।

नेपालको ब्याटिङ इनिङका क्रममा वर्षाको सम्भावनालाई मध्यनजर गर्दै स्पिनरहरू प्रयोग गरी छिटो २० ओभर सकाउने रणनीति लिइएको उहाँले खुलाउनुभयो । सिंहले नेपाली क्रिकेट टोलीको भविष्य उज्ज्वल रहेको र यहाँका प्रतिभाशाली खेलाडीले अवसर पाएमा ठलो छाप छोड्ने विश्वास व्यक्त गर्नुभयो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाल र ओमानबिच प्रतिस्पर्धा भएको हो ।