काठमाडौँ, वैशाख १६ गते । सशस्त्र प्रहरी बल नेपालको साङ्गठनिक सुधार तथा सबलीकरणका लागि सुरु गरिएको नीतिगत परिवर्तन, सीमा सुरक्षा तथा विपत् व्यवस्थापनका प्रयासले सार्थकता पाउँदै गएका छन् ।
वि.सं. २०७९ वैशाख १९ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदभार ग्रहण गरेसँगै थालनी गर्नुभएको नीतिगत सुधार, सङ्गठन सुदृढीकरण र सेवा प्रवाहको प्रभावकारिताले परिणाम दिन थालेको हो । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पछिल्लो दुई वर्षमा सङ्गठनलाई आधुनिक, पारदर्शी र परिणाममुखी बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् । यस अवधिमा १०९ भन्दा बढी कार्यविधि, निर्देशिका, मापदण्ड तथा स्थायी आदेश लागू गर्दै साङ्गठनिक कार्य प्रणालीलाई व्यवस्थित बनाइएको छ ।
कर्मचारी व्यवस्थापनलाई पारदर्शी बनाउन सरुवा, बढुवा र पदस्थापनासम्बन्धी सूची प्रकाशन प्रणाली सुरु गरिएको छ । अनलाइन बिदा र डिजिटल हाजिरीमार्फत प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाइएको छ । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत ठुलो सङ्ख्यामा कर्मचारीको पदोन्नति गरिएको छ भने उत्कृष्ट कार्यसम्पादन गर्नेलाई विशेष बढुवा प्रदान गरिएको छ ।
सीमा सुरक्षालाई उच्च प्राथमिकता दिँदै सीमा सुरक्षा विभाग पुनस्र्थापना गरिएको छ । यस अवधिमा सीमा स्तम्भहरूको निर्माण, मर्मत तथा रङ्गरोगन हुनुका साथै ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ । सीमा क्षेत्रमा सीसी क्यामेरा जडान, थप बीओपी स्थापना तथा गुल्महरूको स्तरोन्नति गर्दै निगरानी प्रणालीलाई थप प्रभावकारी बनाइएको छ ।
विपत् व्यवस्थापनका लागि गोताखोर तथा विशेष उद्धार टोली तयार पारिएको छ । हिमाली क्षेत्रमा उद्धारका लागि विशेष तालिम तथा प्रतिआतङ्कवाद र प्रतिविद्रोहसम्बन्धी तालिमसमेत संस्थाभित्रै सञ्चालन गर्न थालिएको छ । कल्याणकारी कार्यअन्तर्गत आवास सुविधा, बाल हेरचाह केन्द्र र एपीएफ अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । आगामी दिनमा ‘डिजिटल बोर्डर’ अवधारणा कार्यान्वयन गर्ने र सीमा व्यवस्थापन प्राधिकरण गठन गर्ने योजना सशस्त्र प्रहरीले अघि सारेको छ ।