• १६ वैशाख २०८३, बुधबार

मुग्लिन-पोखरा सडक अपाङ्गतामैत्री बनाउन जोड

blog

कार्यक्रममा सहभागीहरु । तस्बिर:अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १६ गते । निर्माणाधीन मुग्लिन–पोखरा सडक खण्डलाई अपाङ्गतामैत्री र समावेशी बनाउन पूर्वाधार निर्माणको काम भइरहँदा सडक प्रयोगकर्ताको आचरण र व्यवहार मुख्य चुनौतीको रूपमा देखिएको छ । 

व्यास नगरपालिकामा बुधबार आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले सडक संरचना मात्र अपाङ्गतामैत्री भएर नपुग्ने भन्दै यसको सही प्रयोगका लागि नागरिक सचेतना र जिम्मेवारी बोध अनिवार्य रहेको औँल्याएका छन् ।

अपाङ्गता अधिकारकर्मी मदन पौडेलले सडकको डिजाइन कागजमा राम्रो भए पनि कार्यान्वयनमा ह्विलचियर प्रयोगकर्ता र दृष्टिविहीनका लागि व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पदमार्गमा बनाइने र्‍याम्पहरू प्राविधिक रूपमा सही नहुँदा अपाङ्गता भएका व्यक्तिहरू दुर्घटनाको जोखिममा पर्ने गरेको बताउनुभयो । अर्का अधिकारकर्मी ईश्वर बास्तोलाले सडक निर्माणका क्रममा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता नहुँदा संरचनाहरू अपाङ्गतामैत्री बन्न नसकेको गुनासो गर्दै दृष्टिविहीनका लागि बनाइने ट्याक्टायल (पहेँलो रङको सङ्केत) मा कुनै पनि अवरोध नहुने गरी निर्माण गर्न सुझाव दिनुभयो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ उदबोध भण्डारीले सडक प्रयोगकर्ता र साना सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा र अज्ञानतावश जेब्राक्रसको सट्टा जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । विशेष गरी अपाङ्गता भएका व्यक्तिको सहजताका लागि बनाइएका खुल्ला र्‍याम्पहरूबाट मोटरसाइकल र स्कुटर छिराउने प्रवृत्तिले गर्दा दुर्घटना बढेको र यसलाई रोक्न ट्राफिक प्रहरीको कडा निगरानी आवश्यक रहेको उहाँको भनाइ थियो । 

आयोजनाले दृष्टिविहीनका लागि अडियो ट्याक्टायल निर्माण गर्ने र पदमार्गमा अवरोधका रूपमा रहेका विद्युत् पोलहरू हटाउने प्रक्रिया सुरु गरिसकेको जानकारी दिइएको छ । अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँकी अध्यक्ष सितादेवी कुँवरले र्‍याम्पहरू ह्विलचियर प्रयोगकर्ताका लागि वास्तविक रूपमै सहज हुनुपर्ने माग गर्नुभयो ।

सडक सुरक्षा अधिकृत कुमार श्रेष्ठले हाल फराकिलो जेब्रा क्रसिङ र अडियो ट्याक्टायलको काम भइरहेको जानकारी दिँदै केही स्थानमा भौगोलिक कठिनाइका कारण र्‍याम्पको सट्टा सिँढी बन्न सक्ने स्पष्ट पार्नुभयो । व्यास नगर शिक्षा प्रमुख केदारराज आचार्यले घाँसीकुवा जस्ता बढी दुर्घटना हुने घुम्तीहरूमा उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै सडक सुरक्षाका लागि पूर्वाधार र चेतना दुवै सँगसँगै जानुपर्ने सुझाव दिनुभयो । 

निर्माणाधीन सडकलाई पूर्ण रूपमा पहुँचयुक्त बनाउन आयोजनाले अधिकारकर्मीहरूसँग नियमित समन्वय गर्ने प्रतिवद्धता समेत कार्यक्रममा व्यक्त गरिएको छ ।