• १६ वैशाख २०८३, बुधबार

'सदन र सडक दुबै ठाउँबाट सरकारका गलत कार्यको प्रतिवाद गर्छौं'

blog

नेकपाका अध्यक्ष प्रचण्ड । फाइल तस्बिर ।

सिराज खान

नेपालगन्ज, वैशाख १६ गते । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सरकारले गर्ने हरेक गलत क्रियाक्लापको सदन र सडक दुबै ठाउँबाट प्रतिवाद गर्ने बताउनुभएको छ । 

रुकुम जाने क्रममा बुधवार नेपालगन्ज पुग्नु भएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै करिब दुई तिहाईको सरकारको सुरुवात नै धेरै राम्रो हुननसकेको जनाउँदै विगतका सात राजनितिक दल लगायतका दलहरुको मोर्चा बनाएर सदन र सडकबाट खबरदारी गर्ने तयारी भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हिजो देशमा गणतन्त्र ल्याउन मुख्य भूमिका निर्वाह गर्ने सात राजनितिक दल लगायतसंग मिलेर अहिले फेरी देशलाई सही दिशामा राख्न हामीले मोर्चा नै बनाएर काम गर्ने तयारी गरिरहेका छौं ।” 

पूर्व प्रधानमन्त्री प्रचण्डले नेकपालाई युवामैत्री दल बनाएर पुनर्गठन गर्नुका साथै समग्र कम्युनिष्ट शक्तिहरुलाई नै एक ठाउँमा ल्याएर पुन:गठन गर्ने प्रयास पनि भइरहेको जनाउनुभयो । उहाँले त्यसका लागि विभिन्न तहमा छलफल र बिचारविमर्श चलिरहेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले अहिले विश्वव्यापी रुपमा अमेरिका र इजरायलले मिलेर ईरानमाथि गरिरहेको आक्रमण र सोबाट उत्पन्न परिस्थितिका बारेमा सरकारले बिश्व समुदायमा पहल बढाउनु पर्नेमा जोड दिनुभयो । 

उहाँले नेकपाले हालै यीनै विषयलाई समेटेर चार बुँदे प्रस्ताव पनि पारित गरेको जनाउँदै ती प्रस्तावलाई कार्यान्वयन गर्नका लागि पार्टी क्रियाशिल रहेको प्रष्ट पार्नुभयो ।