• ११ असार २०८१, मङ्गलबार

डिजेल लिटरमा १० रुपियाँ घट्दा पनि घटेन सवारी भाडा

blog

काठमाडौँ, वैशाख ३ गते । सरकारले चैत्र २० मा डिजेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटायो । धेरै यात्रुको अपेक्षा थियो अब सार्वजनिक सवारीको भाडा घट्छ । तर अवस्था त्यस्तो भएन । मूल्य घटेको दुई साता बिते पनि भाडादर नघटेर यथावत् नै छ ।  

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार तत्काल सार्वजनिक सवारीको भाडादर घट्ने कुनै सम्भावना छैन । भाडादर स्वचालित मूल्य प्रणालीमा घट्ने वा बढ्ने व्यवस्था भएकाले तत्काल भाडादर घट्ने सम्भावना नरहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “भाडादर स्वचालित मूल्य प्रणालीमा आधारित छ । त्यस कारण डिजेलको मूल्य ५ प्रतिशत घटे मात्र भाडादर घट्छ । ५ प्रतिशत बढे भाडादर बढ्छ । अहिले घटेको डिजेलको मूल्य ३.५ प्रतिशत मात्र रहेको छ, त्यस कारण तत्काल भाडादर घट्ने कुनै सम्भावना छैन ।” 

१७५ रुपियाँ रहेको डिजेलको मूल्य  १० रुपियाँ घटेर १६५ रुपियाँ कायम हुँदा पनि भाडादर नघट्दा यात्रुमा भाडा नघट्दा  जिज्ञासा छ  । महानिर्देशक भट्टराईका अनुसार गत असार २७ मा समायोजन भएको भाडादरमा डिजेलको मूल्य १७२ कायम थियो । 

त्यस कारण अहिले घटेको मूल्य १७२ रुपियाँको तुलनामा ५ प्रतिशत नपुग्ने भएकाले मूल्य घटाउन व्यवसायीहरूलाई दबाब नदिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले घटेको मूल्य पहिले समायोजन हुँदाको मूल्यको तुलनामा पाँच प्रतिशत घटेको छैन । त्यस कारण व्यवसायीहरूलाई भाडा घटाउन दबाब दिइएको छैन ।”

तत्काल घटेको मूल्य समायोजन हुँदाको भन्दा ३.५ प्रतिशत मात्र रहेको हुनाले अब १.५० प्रतिशत घटे मात्र भाडा दर घट्ने उहाँको भनाइ छ ।  पहिले कायम भएको मूल्यमा पाँच प्रतिशत तलमाथि भएको खण्डमा मात्र मूल्य घटबढ हुने उहाँ बताउनुहुन्छ । 

ढुवानी भाडा नबढ्ने

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढाउने सम्बन्धमा ढुवानी व्यवसायीहरूले माग गरे पनि अहिलेसम्म भाडा बढेको छैन । नेपाल आयल निगमका सह प्रवक्ता पुष्कर कार्कीका अनुसार ढुवानी भाडा बढाइएको छैन ।

उहाँले भन्नुभयो, “व्यवसायीले ढुवानी भाडा बढाउन आग्रह गरे पनि ढुवानी भाडा बढाउने सम्बन्धमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।” ट्याङ्कर व्यवसायीहरूले ढुवानी भाडा बढाउन पटक पटक नेपाल आयल निगमलाई आग्रह गर्दै आएका थिए ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।