• १३ असोज २०८१, आइतबार

निजी सवारीमा भाडाका यात्रु

blog

काठमाडौँ, चैत २८ गते । पछिल्लो समय रातो नम्बर प्लेटका सवारीसाधनमा यात्रु बोक्ने क्रम बढेको छ । यस्ता रातो नम्बर प्लेटका सवारीसाधनले टिकट बुकिङ काउन्टर नै खोलेर टिकट काट्ने गरेका छन् । 

यात्रुलाई भने रातो र कालो नम्बर प्लेटको सवारीसाधनको भिन्नताको जानकारी नै छैन । सिन्धुलीका नारायण लामाले रातो र कालो नम्बर प्लेटका सवारीसाधनको भिन्नताबारे थाहा नभएको बताउनुभयो । ‘रातो नम्बर प्लेटको सवारीमा यात्रा गर्दा दुर्घटना भयो भने त्यसको उपचार र दुर्घटना बिमा नै नहुने रहेछ, त्यसबारे बल्ल पो थाहा पाएँ । हामीलाई गाडी चढ्न पाए पुगिहाल्यो नि जस्तो लाग्थ्यो’ लामाले सुनाउनुभयो । 

रातो नम्बर प्लेटका सवारीसाधनमा टिकट काटेरै यात्रु बोक्न थालेपछि त्यसले जोखिम बढाएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका सचिव आत्मराम थापाले रातो नम्बर प्लेटका सवारीसाधनमा यात्रुको दुर्घटना बिमा नहुने, टिकट नदिने र जोखिम धेरै हुने बताउनुभयो ।  

यात्रामा जोखिम बढेको भन्दै सो कार्य रोक्न महासङ्घले गृह मन्त्रालयसँग माग गरेको छ । निजी सवारी भाडामा प्रयोग गर्ने व्यवसायीले मनपरी गर्न थालेपछि मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेको छ । परिपत्रमा निजी सवारीसाधन र पर्यटक बोक्न स्वीकृति लिएर यात्रु बोक्ने नदिन भनिएको छ । 

गृह मन्त्रालयका अधिकृत दिपेश बिडारीले नेपाल यातायात राष्ट्रिय व्यवसायीले गरेको मागका आधारमा सबै जिल्लामा परिपत्र गरेको जानकारी दिनुभयो । परिपत्र गरेको चार दिन बिते पनि रातो नम्बर प्लेटका सवारीमा मात्रै नभएर हरियो नम्बर प्लेटमा समेत यात्रु बोक्ने क्रम नरोकिएको थापाले दाबी गर्नुभयो । गृहको परिपत्र जिल्लाबाट कार्यान्वयन नभएको र प्रहरीले एक पटक कारबाही गरे पनि पुनः सोही सवारीले यात्रु बोक्ने गरेको उहाँको दाबी छ । 

यात्रुवाहक सवारीको काम नै यात्रु बोक्ने भएको र त्यस्ता सवारीमा अनुभवी चालक हुने कुरा यात्रुले बुझ्न आवश्यक रहेको महासङ्घका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो । उहाँले यात्रुवाहक सवारीमा दुर्घटना र औषधि उपचारको बिमा हुने गरेको यातायात प्रालिबाट यात्रा गर्नु निकै भरपर्दाे हुने कुरा बुझेर यात्रा गर्न यात्रुलाई अनुरोध गर्नुभयो । 

यात्रुवाहक सवारीमा यात्रा गर्दा पाँच लाखको दुर्घटना बिमा र तीन लाखको उपचार खर्चको बिमाको सुविधा हुन्छ । व्यवसायीले यात्रुवाहक सवारीमा अर्बाैं रुपियाँको लगानी गरेको र फरक प्रयोजनका सवारी साधनले यात्रु बोक्दा समस्यामा पारेको व्यवसायी राजेश श्रेष्ठले बताउनुभयो ।