गोरखापत्र समाचारदाता
ललितपुर, मङ्सिर २२ गते । कृत्रिम बौद्धिकता (एआई) लाई शिक्षा, स्वास्थ्य सेवा र कृषिलगायत बहुपक्षीय सुमन्नतिमा लगाउन नेपालले ढिला गर्न नहुने विज्ञले सुझाव दिएका छन् । एआईको नियमन निम्ति विश्वव्यापी रूपमा अनेक बहस चलिरहेकाले यसको नेपालमा बहुपक्षीय प्रयोगका निम्ति राष्ट्रिय स्वार्थ, सुरक्षा, सही सूचनासमेतमा ध्यान दिनुपर्नेसमेत सुझाइएको छ ।
एसोसिएसन अफ फर्मर एम्बासडर अफ नेपाल (एफक्यान), कूटनीति तथा विकास केन्द्र (सिडिडी) र फर्मर इन्टरनेसनल प्रोफेसनल्स अफ मल्टिनेसनल्स अर्गनाइजेनन्स (फिप्मो) को संयुक्त आयोजनामा एआई र यसको प्रयोगसम्बन्धी विमर्श कार्यक्रममा विज्ञहरूले एआईका सही प्रयोगले राष्ट्रिय विकासमा तीव्र्रता दिन सक्ने बाटो देखाए ।
कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले एआई विश्वव्यापी प्रसार र प्रयोगमा कुनै निश्चित मुलुक तथा कम्पनीको हित प्रवर्धनभन्दा सबैका निम्ति सर्वसुलभ हुनुपर्ने बताउनुभयो । मदन भण्डारी विश्वविद्यालयका प्राध्यापक डा. सुरेश मानन्धरले एआई प्रवर्धनले नेपालमा कृषिको विकास गर्न, गुणात्मक शिक्षा दिन र स्वास्थ्य क्षेत्रलाई अझ सर्वसुलभ बनाउन सकिने छ भन्दै त्यसका निम्ति सरकारले नीतिगत फराकिलो मार्गदर्शनमा गर्नुपर्ने सुझाव दिनुभयो ।
एआईको प्रयोग अर्थतन्त्रका विकास, विदेशी लगानी आकर्षित गर्नसमेत उपयोगी हुने सुझाव दिइएको थियो । विज्ञ विहन राणाले जलविद्युत् प्रचुर हुँदै गएको नेपालमा यसको प्रयोगले लगानी ल्याउन, रोजगारी प्रवर्धन गर्न र नेपालमै बसेर विदेशका काम गर्न सकिने बताउनुभयो । अर्का विज्ञ अनिल रघुंसीले एआई सही प्रयोगले मात्र यसको बहुपक्षीय प्रतिफल प्राप्त हुने भन्दै जताभाबी प्रयोगले प्रतिकूल असरप्रतिसमेत सचेत गराउनुभयो । कार्यक्रममा सडिडीका उपाध्यक्ष डा. मित्रबन्धु पौडलले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका विज्ञ तथा पूर्व कूटनीतिज्ञबिच एआईबारे हुने विमर्शले यसको सही प्रयोगको दिशानिर्देश गर्न सहज हुन सक्ने बताउनुभएको थियो ।