• १३ साउन २०८१, आइतबार

नक्सा पासै नगरी होटल र अपार्टमेन्ट

blog

समिट होटल र अपार्टमेन्टको जग खन्दा भासिएको घर । तस्बिर: कविन अधिकारी

ललितपुर, चैत २६ गते । ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ ।

साबिकको समिट होटल भत्काई त्यस ठाउँमा समिट होटल र अपार्टमेन्ट बनाउन जग खन्दा शुक्रबारदेखि अचानक आसपासका घर भासिएका थिए । उक्त घटनापछि स्थानीय डेरा खोजेर अन्त सर्न थालेका छन् । प्रहरीले उनीहरूलाई डेरा खोज्न सहजीकरण गरिरहेको छ । यसै विषयलाई लिएर ललितपुर महानगरपालिकामा पीडित, होटल तथा अपार्टमेन्टका सञ्चालक र महानगरपालिकाबीच आइतबार बैठक भएको छ । बैठकमा महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको खुलेको हो । यसरी नक्सा पास नगरी काम भएको र त्यसले गम्भीर क्षति पु-याएकाले महानगरपालिकले सम्बन्धित पक्षलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने निर्णय भएको छ ।

ललितपुर महानगरपालिकाका प्रेस संयोजक रमा लुइँटेलले नक्सा पास स्वीकृतिका लागि महानगरपालिकामा फाइल नै पेस नभएको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सञ्चालकका तर्फबाट निर्वाण चौधरीले आफूहरूको कार्यमा जेसुकै भए पनि सुरक्षालाई पहिलो प्राथमिकता दिएर तत्कालको समस्या समाधान भएपछि मात्र थप कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  निर्माणका लागि थप कार्य अगाडि बढाउन भने अपार्टमेन्टले महानगरको नियमअनुसारको निवेदन दर्ता, सम्बन्ध, निर्माण स्वीकृति केही नलिएको प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका–१ का अध्यक्ष निर्मल तण्डुकारले निर्माणका लागि ललितपुर महानगरपालिका र आफ्नो वडासँग निर्माण कम्पनीले कुनै पनि छलफल नगरेको बताउनुभयो । यस्ता ठूला संरचना बनाउन सामाजिक तथा वातावरणीय परीक्षण गर्न‘पर्ने भए पनि स्थानीय तहसँग समन्वय नगरी काम सुरु भएको उहाँले बताउनुभयो ।  ठूला भवन तथा अपार्टमेन्ट बनाउँदा सहरी विकास मन्त्रालयबाट प्लानिङको परमिट मात्रै लिएको देखिएको छ । भवन बनाउनेबारे कुनै पनि स्वीकृति लिएको देखिँदैन । 

सहरी विकास तथा भवन निर्माण विभागका प्रमुख मचाकाजी महर्जनले आफ्नो विभागबाट समिट होटल/अपार्टमेन्टलाई कुनै पनि अनुमति प्रदान नगरेको बताउनुभयो । यत्रो संरचना निर्माणमा अनुमति नहुनु भन्नु नै प्रश्न रहेको उहाँले बताउनुभयो । 

उक्त निर्माणबाट छिमेकी रञ्जनध्वज विष्ट र रञ्जन श्रेष्ठको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । विष्टको छ तलाको घरमा एक तला भासिएको छ भने श्रेष्ठको घर क्षतिग्रस्त बनेको छ ।

दुईवटा घर माटोभित्र दबिएपछि थप घरमा समेत क्षति हुने आशङ्का गरी ललितपुर महानगरपालिका–१ र २ बखुण्डोलका पाँचवटा घर खाली गराइएका छन् । बखुन्डोल पश्चिम र उत्तरका घर खाली गराइएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले पाँचवटा घर खाली गरिएको बताउनुभयो । 

दुई रात बखुन्डोलका स्थानीयले त्रासदीपूर्ण रूपमा बिताएर अहिले डेरा खोज्ने सुरसार गर्न थालेका छन् । स्थानीयले शुक्रबार २०७२ सालको भूकम्पको जस्तै महसुस गरेको सुनाए । स्थानीय सुरेन्द्र श्रेष्ठले भूकम्पको धक्का आएजस्तो लागेको बताउँदै भागेर ज्यान जोगाएको सुनाउनुभयो ।  रातको समयमा बस्ने ठाउँ नभएपछि रातभर उनीहरू सडकमै बसे । 

सोही स्थानभन्दा केही तल कुटुम्ब होटल सञ्चालन गरिरहेका मनोज महर्जनले बस्नका लागि कोठा खोज्न १० परिवार आएको बताउनुभयो । अटाउनेसम्मलाई व्यवस्थापन गरे पनि सबैलाई राख्न नसकेको उहाँले बताउनुभयो । 

बखुण्डोलमा ११ रोपनी जग्गामा समिट अपार्टमेन्ट र आठ रोपनीमा समिट होटल निर्माण भइरहेकोमा अपार्टमेन्टपट्टिको भागको बेसमेन्ट बनाउँदा स्थानीयको घर भासिएको हो । केही घर जगदेखि नै चर्किन थालेपछि प्रहरीको सहयोगमा घर खाली गराइएको हो । घर भासिन थालेपछि ललितपुर क्षेत्र नम्बर ३ का सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै दबाब दिनुभएको छ । 

 उपप्रमुखको संयोजकत्वमा समिति 

यस घटनाबाट उत्पन्न समस्या समाधान गर्न आइतबार ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यको संयोजकत्वमा अधिकारसम्पन्न सर्वपक्षीय समिति गठन भएको छ । 

आइतबार बसेको सरोकारवालाहरूको बैठकले प्रभावित व्यक्तिको समस्या तत्काल समाधानका लागि सम्बोधन र सहजीकरणको अगुवाइ गर्न उपप्रमुखको नेतृत्वमा समिति गठन गरिएको महानगरपालिकाले जनाएको छ । समितिमा ललितपुर महानगरपालिकाका प्रवक्ता, वडा नं. १ र २ का वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत, होटल व्यवस्थापनका तर्फबाट प्रतिनिधि सञ्चित श्रेष्ठसँगै प्रभावित व्यक्तिबाट रञ्जनध्वज विष्ट, रचन शाही, प्रविन आचार्य सदस्य हुनुहुन्छ । समितिको सदस्यसचिवमा पूर्वाधार निर्माण महाशाखाका प्रमुख रहनुभएको छ । 

परियोजनाबाट प्रभावित व्यक्तिको समस्या सम्बोधन गर्ने प्रयोजनका लागि तत्काल एक करोड रुपियाँको -यापिड रिलिफ फन्ड स्थापना गर्ने र सो कोषमा आवश्यकताअनुसारको खर्च व्यवस्थापनबाट थप गर्दै जाने निर्णय भएको छ । 

कोषको परिचालन सोही समितिबाट हुने र प्राविधिक टोलीले जोखिम आकलन, सम्बोधनलगायत आवश्यकताअनुसारका कार्यमा निर्णय गर्नेछन् । 

भत्केका संरचना, चर्केका घरलगायतका प्रभावित संरचनाको क्षतिबमोजिमको क्षतिपूर्ति व्यवस्थापकले उपलब्ध गराउने निर्णय भएको छ । अब थप क्षति हुन नदिने सुनिश्चिततासहित आवश्यक कामकारबाही तत्काल व्यवस्थापकले अगाडि बढाउने र प्रभावित संरचना तथा व्यक्तिहरूको क्षतिपूर्तिको काम सम्बोधन नभएसम्म होटल निर्माणसम्बन्धी काम रोक्ने सहमति भएको छ ।