• १३ असोज २०८१, आइतबार

शिक्षक छोडेर राजनीतिमा

blog

काठमाडौँ, चैत ४ गते । राजनीतिकर्मीका लागि अवसरका अनेकौँ ढोका खुला रहेका हुन्छन्। शिक्षक हुँदै मधेशको राजनीतिबाट उदाउनुभएका सादगी नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यसको थप पुष्टि भएको छ।

वि.सं. २०२७ साउन ९ गते बाराको बसबरियामा जन्मिनुभएका यादवले भारतको सीतामढीबाट विज्ञान विषयमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ। त्यसपछि यादव शिक्षण पेसामा आबद्ध हुनुभएको थियो। शिक्षण पेसा छोडेर पूर्णकालीन राजनीतिमा होमिएपछि उहाँलाई घरखर्च चलाउन अप्ठ्यारो प-यो। त्यसपछि उहाँकी श्रीमती चम्पादेवी यादवले पशुपालन गरेर आर्थिक जोहो गर्दै उहाँको राजनीतिक जीवनलाई सहज बनाइदिन प्रयास थाल्नुभएको थियो। 

उहाँका श्रीमती चम्पादेवी, दुई छोरा र एक छोरी छन्। उहाँकी श्रीमती अझै पनि गाईभैँसी पालनमै व्यस्त हुनुहुन्छ। छोराछोरी उच्च शिक्षाका लागि यादवसँगै काठमाडौँस्थित डेरामा बस्दै आउनुभएको छ। उहाँका पिता प्रसादराय यादव र माता सहवा देवीको मृत्यु भइसकेको छ। 

२०४८ सालमा शिक्षण पेसामा प्रवेश गर्नुभएका यादवको राजनीतिक यात्रा नेपाल सद्भावना पार्टीबाट सुरु भएको थियो। २०४६ देखि २०५२ सालसम्म सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य हुनुभएको थियो। नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशनमा प्रतिनिधिका रूपमा खटिनुभएका उहाँ २०५७ सालमा गिरफ्तार हुनुभएको थियो। २०५९ सालमा मधेशी जनअधिकार फोरम नेपालमा आबद्ध हुनुभएको उहाँले २०६० साल फागुन ७ गते मधेशी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजको तथा केन्द्रीय सदस्यको जिम्मेवारी बहन गर्नुभयो। 

त्यसपछि उहाँ २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भएर लाग्नुभयो। आन्दोलनका क्रममा काठमाडौँबाट गिरफ्तारीमा पर्नुभयो। २०६२/६३ सालको मधेश आन्दोलनमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्व सम्हाल्नुभयो। २०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचित भएर संविधान सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्यका रूपमा कार्यानुभव हासिल गर्नुभयो। २०७२ सालमा मधेशी जनअधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिवको जिम्मेवारी पाउनुभयो। 

मधेश आन्दोलनका क्रममा २०७२ सालमा निषेधाज्ञा उल्लङ्घन गर्दा प्रहरीको लाठी प्रहारबाट उहाँ सख्त घाइते हुनुभएको थियो। २०७४ सालमा बारा क्षेत्र नम्बर २ बाट यादव प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो। २०७५ सालमा सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव, २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्यको जिम्मेवारी पाउनुभयो। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको समय २०७८ सालमा उहाँले वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो। गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा–२ बाट निर्वाचित हुनुभएपछि जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको थियो। 

उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवले पार्टी तथा सरकारको प्रतिनिधि भई अमेरिका, पोल्यान्ड, चीन, बेलायत (स्कटल्यान्ड, इङ्ग्ल्यान्ड), बेल्जियम, यूएई (संयुक्त अरब इमिरेट्स) लगायतका देशको भ्रमण गर्नुभएको छ। 

पछिल्लो समय जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य र संसदीय दलको नेताको भूमिकामा रहनुभएको थियो। उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उहाँले अब पार्टीको भूमिका छाड्नुपर्ने हुन्छ। उहाँ विजयी भएपछि उहाँको निर्वाचन क्षेत्र बारा–२ मा उपनिर्वाचन हुनेछ। उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा सुरु भएको छ।