• १३ असोज २०८१, आइतबार

मध्यपहाडी लोकमार्ग कालोपत्रेमा गुणस्तरहीन सामान प्रयाेग

blog

मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्डमा ढलान गर्दै कामदारहरु

राजकुमार भट्टराई

खोटाङ, फागुन ३० गते । खोटाङस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर–दिक्तेल सडक खण्ड कालोपत्रेको काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ । पटकपटक म्याद थपिँदा पनि काम नभएपछि ठेक्का तोड्ने तयारीपछि काम सुरु गरेको निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो ।   

निर्माण कम्पनीले तयारी गरिरहेको सव–बेसको गुणस्तरमा प्रश्न उठेको छ । ढलानका क्रममा माटो मिसिएको बालुवा प्रयोग भइरहेको प्रष्टै देख्न सकिन्छ । 

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलगायतको टोलीले निरीक्षण गर्दा बालुवामा माटो मिसिएको पाइएको छ । बालुवा राखिएको थुप्रोमा बाहिरको बालुवा राम्रो देखिए पनि भित्र सबै माटो मिसिएको बालुवा रहेको मेयर भट्टराईले बताउनुभयो । गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरिएका संरचना तत्काल भत्काएर पुनः निर्माण गर्न निर्देशन दिएको समन्वय प्रमुख राईले बताउनुभयो ।  

मध्यपहाडीको भोजपुरभित्र पर्ने सबै खण्ड तथा खोटाङभित्र पर्ने अन्य सडक खण्ड कालोपत्रे भइसक्दा चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको १० किलो मिटर सडक हालसम्म कालोपत्रे हुन सकेको छैन । खोटाङभित्रको जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–सेखुवासम्मको खण्ड कालोपत्रे भइसकेको छ । अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक पटकपटक म्याद थप्दा पनि काम पूरा गर्ने छाँटकाट नदेखिएपछि मध्य पहाडी लोकमार्ग कार्यालय धुलिखेलले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो। 

स्थानीय नागरिकले पनि ठेक्का तोडेर अन्य प्रक्रियाअघि बढाउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । जब ठेक्का तोड्न सिफारिस गरियो तब निर्माण कम्पनीले पुस अन्तिमबाट काम गर्न सुरु गरेको छ ।

भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरि २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद २०७७ पुस १३, दोश्रो म्याद २०७८ असार १३ र तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते मै गुज्रिसकेको छ । ३२ करोड रुपियाँमा कालोपत्रेको जिम्मा लिएका निर्माण कम्पनीले ३-३ पटक म्याद गुज्रिँदासम्म कानमा तेल हालेर बसेका थिए । ठेक्का तोड्न सिफारिस भएपछि बल्ल काममा खटेको निर्माण कम्पनी अन्ततः गुणस्तरहीन सामाग्री प्रयोग गरेर काम सक्न लागिपरेको छ । 

विभिन्न समस्या भएको वहाना गर्दै वैशाख मसान्तसम्ममा काम सम्पन्न गरेर सडक हस्तान्त्रण गर्ने प्रतिबद्धता गरेको निर्माण कम्पनीले भनेको समयमा काम नसक्ने अवस्थामा पुगेको छ । १२ औं संशोधन अन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रेको काम सम्पन्न हुने अवस्था नदेखिएको सडक अवस्थित स्थानीय तह सोकला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईको भनाइ छ । 

ढिलासुस्ती भएपछि ठेक्का तोड्नका लागि सिफारिस गर्दा चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धता अनुसार काम नभएको अध्यक्ष राइले बताउनुभयो । कालोपत्रेको ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि सडकको काम पूरा नहुँदा स्थानीय र यात्रुले विशेषगरी बर्खाको समयमा समस्या भएको छ ।

भोजपुर जिल्लाबाट राजधानी काठमाडौं सोही बाटो प्रयोग भएर सवारी साधन आवतजावत गर्ने गरेका छन् । वर्खाको समयमा सवारीसाधन फसेर सोही ठाउँमा वाससमेत बस्नुपरेको यात्रुहरुको तीतो यथार्थ छ । सवारी साधन फस्ने समस्याले अस्पताल लगेका बिरामीहरुको बाटैमा ज्यान जान सक्ने अवस्था रहेको स्थानीय मीनाकुमारी राईले बताउनुभयो । गत बर्खाको समयमा उहाँ आफैंले पनि यो समस्या भोगेको सुनाउनुहुन्छ ।