• २५ चैत २०८२, बुधबार

पर्यटन क्षेत्रको बिकास गर्नुपर्छ : मन्त्री पराजुली

blog

कार्यक्रममा बोल्दै कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री पराजुली । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), चैत २५ गते। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।

उहाँले पर्यटकीयस्थलको थप पहिचान गर्दै प्रदेश सरकारले कार्यक्रम बनाएर पर्यटन क्षेत्रको बिकास गर्ने बताउनुभयो । जुन प्रभावकारी ढंगले गर्नुपर्ने थियो, त्यो नभएकले प्रतिवद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकाले निजी लगानीसँग समन्वय गरेर अगाडि बढ्ने समेत बताउनुभयो । 

पर्यटकीय क्षेत्रलाई गौरवको योजना बनाएर अगाडि बढ्न सकियो भने धेरै काम गर्न सकिने बताउँदै उहाँले त्यसका लागि काम गर्ने योजना रहेको बताउनुभयो । उहाँले पर्यटकीय स्थलहरुको थप पहिचान गरी आवश्यक संरचना तथा भौतिक निर्माण गर्ने योजना रहेको बताउनुभयो । पहाडी जिल्लामा पर्यटकीयस्थल नगन्य रहेकाले यसलाई आवश्यक बिकासमा संघीय सरकारसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । पर्यटकीय स्थलहरुको एउटा सपना देखेको त्यो सपनाअनुसार प्रदेश सरकारले पूरा गर्ने बताउनुभयो । 

कोशी प्रदेशमा नगन्य धार्मिकस्थल रहेकाले प्रचारप्रसार कम रहेको उहाँको भनाइ छ । पर्यटकीयस्थलमा निजी लगानीकर्ता भित्र्याइ थप बिकास गर्न सकिने बताउँदै उहाँले त्यस्ता लगानीकर्तासँग मिलेर काम गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा पर्यटन कार्यालय धरानका प्रमुख भीषण राईले पत्रकारिता समाचार संप्रेक्षण गर्ने मात्र नभई प्रश्न गर्ने पनि रहेको बताउनुभयो । 

मोबाइल पत्रकारितालाई प्रभावकारी बनाउँदै लैजानु पर्ने उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई पर्यटनसँग जोडेर अगाडि बढ्न आग्रह गर्दै पर्यटन कार्यालयको तर्फबाट साथ सहयोग रहने बताउनुभयो । पत्रकारिता पर्यटनसँग नजिक रहेर तराईदेखि पहाड हुँदै हिमालसम्म प्रचारप्रसरमा सहयोग पुग्ने बताउनुभयो । यसका लागि सदैव साथ सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

तालिममा कोशी प्रदेशका १४ जिल्लाका करिब ५० जनाभन्दा बढी सञ्चारकर्मी तथा पत्रकारको सहभागिता रहेको छ । तालिम भेटेडारस्थित नाम्जेमा चैत्र २४ गतेदेखि २९ गतेसम्म ५ दिन सञ्चालन हुनेछ।