• २० वैशाख २०८३, आइतबार

लेक चढ्न थाले भेडा

blog

हरिकृष्ण ऐडी 

मुगु, वैशाख २० गते । बेँसी झरेका भेडा चरनका लागि लेक र हिमाली भेगतर्फ लागेका छन् । चिसो मौसममा चरनमा समस्या भएपछि बेँसी झरेका भेडाबाख्रा गर्मी सुरु भएसँगै फेरि लेकतर्फ गएका हुन् । 

जिल्लाको छायानाथ रारा नगरपालिका–६ को खाँडाचौरका भेडीगोठका गोठालाले आफ्ना भेडाका बथानलाई लेक र उच्च खर्कतर्फ लैजान थालेको भेडागोठाला रतनबहादुर मल्लले बताउनुभयो । उहाँले बेँसीमा गर्मी बढेपछि यहाँका २२ वटा भेडीगोठका बथानलाई लेकतर्फ लगेको बताउनुभयो । स्थानीय बाँच्या ऐडीका अनुसार चिसो समयमा हिमाली भेगका लेकमा हिउँपर्दा चिसो र चरनका लागि घाँस नपाउने हुँदा हिमाली भेगबाट चिसो छल्न बेँसी झरेका भेडा फेरि लेकतर्फ लगेका छन् । 

भेडीगोठाला कमल कार्कीले वर्षको सात महिना लेक र हिउँदको पाँच महिना बेँसीमा भेडीगोठ राख्ने जानकारी दिनुभयो । छायानाथ रारा नगरपालिका–६ का ३५ वर्षीय मानबहादुर बोहोराले चिसो छल्न बेँसी झारेका भेडा वैशाखदेखि लेकतर्फ लागेको बताउनुभयो । उहाँले अहिले हिमालको काखमा रहेको भालुकाँडा भन्ने ठाउँमा भेडीगोठ सारेको भन्दै उहाँले बेँसीबाट भेडाबाख्रा चराउँदै मुन्दु, रमदा, मुड्या हुँदै खात्तला खर्कतर्फ लैजाने बताउनुभयो । उहाँको गोठमा सानाठुला गरी बढी भेडा र बाख्रा छन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका अनुसार बेँसीमा रहँदा भेडीगोठको मल खेतबारीमा प्रयोग हुन्छ । कार्यालय प्रमुख भीमचन्द्र बुढाका अनुसार जिल्लामा सात हजारभन्दा बढी घरधुरीले भेडाबाख्रा पाल्दै आएका छन् । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत भेडाबाख्रा हो । भेडीगोठालालाई प्रोत्साहन गर्न कर्णाली प्रदेशको आर्थिक सहयोगमा ५० भन्दामाथि भेडाबाख्रा पाल्ने किसानलाई १८ हजार रुपियाँका दरले प्रोत्साहन भत्ता  वितरण गरिन्छ । उहाँले हरेक वर्ष जिल्लाका दुई सयदेखि तीन सय भेडापालक किसानलाई रकम वितरण गर्दै आएको बताउनुभयो । 

जिल्लाका भेडापालक किसानले भेडाको ऊनबाट राडी, फेरुवा, लिउ, कम्मललगायत सामग्री बनाउँछ । जिल्लामा रहेका २३ हजार भेडाबाख्राबाट वार्षिक १० हजार किलो ऊन उत्पादन हुन्छ । उन प्रतिकिलो तीन सय रुपियाँमा बिक्री हुन्छ । भेडाको मासु वार्षिक एक सय मेट्रिक टन उत्पादन भई ५० लाख रुपियाँसम्म आम्दानी हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

जिल्लामा वार्षिक एक करोड रुपियाँको हाराहारीमा आम्दानी भए पनि नयाँ पुस्ताले यो पेसालाई बेवास्ता गर्दा भेडीगोठ लोप हुने अवस्थामा पुगेको स्थानीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडी बताउनुहुन्छ ।