बुटवल समाचारदाता
बुटवल, वैशाख २० गते । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।
छ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते कञ्चनजङ्घा–बिरुवा जेभी ठेकेदारसँग करिब ५४ करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७६ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदारले पटक पटक म्याद थप्दा पनि काम पूरा गर्न सकेन । अन्ततः आठ पटक म्याद थपिएपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा उक्त ठेक्का रद्द गरेको थियो ।
त्यसपछि बाँकी काम सम्पन्न गर्न अर्काे ठेकेदार कम्पनी छनोट भयो । बाबुल दर्शन मालिका जेभी (भैरहवा) सँग भ्याटसहित करिब ३३ करोड रुपियाँमा नयाँ ठेक्का सम्झौता गरियो । २०८१ असोज १८ गते भएको सम्झौता अनुसार एक वर्षभित्र काम सक्ने लक्ष्य राखिए पनि नयाँ ठेकेदारबाट पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
हालसम्म यो सडक आयोजनामा १० पटक म्याद थप भइसकेको छ । नयाँ ठेकदारबाट दुई पटक म्याद थप भइसकेको र तेस्रो पटकका लागि प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । सूचना अधिकारी इन्जिनियर शुभेच्छा साहका अनुसार ठेक्काको म्याद चैत १२ गते सकिएको थियो । अहिले असार मसान्तसम्म म्याद थप गर्ने प्रस्ताव माथिल्लो निकायमा पठाइएको छ ।
हालसम्म सडक निर्माणको भौतिक प्रगति करिब ५८ प्रतिशत र वित्तीय प्रगति ४३.९५ प्रतिशत मात्र पुगेको छ । विभिन्न बहाना बनाएर ठेकेदारले म्याद थप माग्दै जाने, सोही अनुसार सरकारी निकायले पनि म्याद थप्दै जाँदा काममा ढिलासुस्ती हुँदै गएको छ । म्याद थप्दै, उचित समयमा भुक्तानी लिँदै गरेका ठेकेदारको ठग प्रवृत्तिले जनताले सास्ती पाउने भएका छन् ।
पुरानो ठेक्का तोडेर नयाँ ठेकेदारसँग एक वर्षभित्र काम सम्पन्न गर्ने सर्त राखिए पनि पुरानै ढिलाइको अवस्था दोहोरिएको छ । निर्माण कम्पनीका सहसञ्चालक तौफिक अहमद खानले लागत वृद्धि र निर्माण सामग्री अभावका कारण काममा ढिलाइ भएको बताउनुभयो । ढुङ्गा, गिट्टी र बालुवा जस्ता सामग्री सहज रूपमा उपलब्ध नहुनु मुख्य समस्या रहेको उहाँको भनाइ छ ।
उहाँले थपिएको समयभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । परियोजना अनुसार सडकमा साढे १० मिटर चौडाइको मुख्य लेन, सात मिटरको सर्भिस लेन, तीन मिटरको फुटपाथ र साढे दुई मिटरको हरित क्षेत्र निर्माण गरिने छ । निर्माणको काम लामो समयसम्म अधुरै रहँदा स्थानीयवासी र व्यापारी मारमा परेका छन् । विशेष गरी ट्राफिक चोक क्षेत्रका व्यवसायी धुलो र हिलोका कारण प्रत्यक्ष प्रभावित भएका छन् । लामो समयदेखि ट्राफिक चोकमा व्यापार गर्दै आएका यज्ञ पोखरेलका अनुसार सडक खनेर लामो समयसम्म अलपत्र छोडिँदा समस्या झन् बढेको छ । उहाँले भन्नुभयो, “पानी पर्दा हिलो पसलभित्रै आउँछ, घाम लाग्दा धुलो उडेर बस्नै गाह्रो हुन्छ ।”
उहाँले पटक पटक सडक भत्काएर पुनः निर्माण गर्ने प्रवृत्तिले समस्या झन् जटिल बनाएको गुनासो गर्नुभयो । सडकको दयनीय अवस्थाले सवारीचालक पनि उत्तिकै प्रभावित भएका छन् । विशेष गरी अटोचालक धुलो र बिग्रिएको सडकका कारण समस्यामा परेका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले पनि सडक निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै तीन किलोमिटर सडक बनाउन १० वर्ष लाग्नु विकासका नाममा विडम्बना भएको टिप्पणी गर्नुभयो । उहाँले सडक निर्माण सुरु गरेपछि समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।