• २५ चैत २०८२, बुधबार

प्लाष्टिक र्स्क्याप आयात खुला गर्न उद्योगीको सुझाव

blog

जम्मा गरिएको प्लाष्टिकका बोतल । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली
विराटनगर, चैत २५ गते ।
नेपालमा प्लाष्टिक रिसाइक्लिङ (पुनःप्रशोधन) उद्योगको राम्रो सम्भावना रहे पनि कच्चा पदार्थका रूपमा प्रयोग हुने ‘प्लाष्टिक र्स्क्याप’ आयातमा रहेको नीतिगत झन्झट बाधक देखिएको उद्योगीहरुले बताएका छन् । विराटनगरमा आयोजित एक नीतिगत छलफलमा मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले रिसाइक्लिङ उद्योगका लागि आवश्यक पर्ने र्स्क्याप आयातको ढोका खोल्न सरकारलाई आग्रह गर्नुभयो ।

प्लाष्टिकको र्स्क्याप आयात गर्ने खुकुलो नीति बनाउँदा प्लाष्टिक दानामा विदेशिने ठुलो परिमाणमा अमेरिकी डलर बचत हुने र आयात घट्ने भएकाले सरकारले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने सुझाव राठीले दिनुभएको छ ।

हाल नेपालका प्लाष्टिक उद्योगहरू शतप्रतिशत नयाँ कच्चा पदार्थ (दाना) मा निर्भर छन् । यस्तो दाना आयात गर्न वार्षिक करोडौं डलर भारत तथा तेस्रो मुलुकमा बाहिरिने गरेको छ । सरकारले विदेशबाट प्रयोग भइसकेका प्लाष्टिकका टुक्राहरू वा प्रशोधनयोग्य स्क्र्याप ल्याउन अनुमति दिने व्यवस्था खुला गरेमा स्वदेशमै प्रशोधन गरी दाना बनाउन सकिने र त्यसमा उद्यमीहरुले नयाँ लगानी गर्ने सम्भावना रहेको उद्योगीहरुको भनाइ छ । छिमेकी भारतबाटै नेपाललाई चाहिने ठुलो परिमाणमा र्स्क्याप ल्याउन सकिने भएकोले सस्तोमा दाना बनाउन सकिने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

नेपाल सरकारको पन्ध्रौँ योजना (२०७६–२०८१) ले पनि ‘फोहोरलाई मोहोरमा बदल्ने’ र चक्रीय अर्थतन्त्रको अवधारणा अघि सारेको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ र वातावरण संरक्षण ऐन २०७६ ले पनि पुनःप्रयोग र पुनःप्रशोधनलाई प्राथमिकता दिएका छन् । तर, औद्योगिक प्रयोजनका लागि ठूलो मात्रामा प्लाष्टिक स्क्र्याप आयात गर्न भने सरकारले सहज बाटो नदिएको उद्योगीहरुले बताए । र्स्क्याप ल्याउन खोज्दा कानुनी स्पष्टताको अभाव देखाउँदै भन्सार र वातावरणसम्बन्धी प्रक्रियामा उद्योगीहरूले झन्झट खेप्नुपरेको अध्यक्ष राठीले बताउनुभयो ।

रिसाइक्लिङ गरिएको प्लाष्टिकबाट घरायसी सामानहरू बाल्टिन, जग, कुर्सीदेखि औद्योगिक पाइप र निर्माण सामग्रीसम्म उत्पादन गर्न सकिने बताइएको छ ।

स्क्र्यापलाई विकास निर्माणमा पनि प्रयोग गर्न सकिने भएकोले सरकारले यसको आयातलाई सहज बनाउनु पर्ने उनीहरुले बताए । नेपालका पोखरा, बुटवल र काठमाडौँका केही नगरपालिकाहरूले सडक पिच गर्दा अलकत्रामा यस्तो प्लाष्टिक मिसाउने सफल अभ्यास सुरु गरिसकेका छन् । यसो गर्दा सडकको आयु बढ्ने र निर्माण लागत घट्ने प्राविधिकहरू बताउँछन् । त्यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले प्लाष्टिकबाट डिजेल निकाल्ने सफल परीक्षण गरिसकेकाले यस क्षेत्रलाई ऊर्जा सुरक्षासँग पनि जोड्न सकिने सम्भावना रहेको उद्योगीहरुले स्मरण गराएका छन् ।

हाल नेपालमा पानीका बोतल र अन्य प्लाष्टिकजन्य सामग्रीको रिसाइक्लिङ साना कबाडी केन्द्र र दाना उद्योगहरूमा सीमित मात्रामा भइरहेको छ । यदि सरकारले आधुनिक मेसिनरी आयातमा भन्सार छुट दिने, कच्चा पदार्थका रूपमा र्स्क्याप आयातलाई वैधानिकता दिने र सडक निर्माणमा प्लाष्टिकको प्रयोगलाई अनिवार्य गर्ने हो भने नेपालको प्लाष्टिक फोहोर व्यवस्थापनको ठूलो समस्या समाधान हुने सुझाव उद्योगीहरुले दिइरहेका छन् । यसले उत्पादन सस्तो भई उपभोक्तालाई पनि सहज हुने उनीहरुको दाबी छ ।