• २५ चैत २०८२, बुधबार

सुरक्षा निकायलाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण

blog

डिभिजन वन कार्यालय धनकुटाले अग्नि नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), चैत २५ गते । डिभिजन वन कार्यालय धनकुटाले अग्नि नियन्त्रणका लागि आवश्यक उपकरण हस्तान्तरण गरेको छ ।

जिल्लास्थित सुरक्षा निकायलाई वन डढेलो व्यवस्थापन कार्यक्रम तथा कोशी प्रदेश वन निर्देशनालयको सहयोगमा उपकरण हस्तान्तरण गरेको हो ।

उक्त उपकरण डिभिजन वन कार्यालयले नेपाली सेनाको भीमदल गण सल्लेरी, जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बलको छिन्ताङ गुल्मलाई हस्तान्तरण गरिएको थियो ।

कार्यालयले आगो नियन्त्रणका लागि प्रयोग हुने फायर स्वाटर, रेक, एक्स, फायर बुट, फेस मास्क, हेलमेट, पञ्जा, जम्प बुट तथा ब्याकप्याक वाटर पम्प लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ ।

डिभिजनल वन अधिकृत सञ्जीवराज ढकालका अनुसार जिल्लाका तीनवटै सुरक्षा निकायलाई करिब पाँच लाख ७५ हजार रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो  ।

सामग्री भीमदल गणका गणपति प्रमुख सेनानी गणेश थापा, प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्री र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देललाई हस्तान्तरण गरिएको थियो ।

धनकुटाको अरुण र तमोर तटीय क्षेत्र वन डढेलोको उच्च जोखिममा रहेकाले सामाग्री वितरण गरिएको जनाइएको छ । जिल्लामा करिब ४२ प्रतिशत भूभाग वनले ढाकेकोमा तीमध्ये १२ प्रतिशत क्षेत्र उच्च जोखिममा पर्ने गरेको छ।

प्रत्येक वर्ष वन डढेलोका कारण करिब १५ करोड रुपियाँ बराबरको वन स्रोत नष्ट हुने गरेको तथ्याङ्क  छ ।