• १३ असोज २०८१, आइतबार

घर धनी र डेरावालाको सम्झौता वडा कार्यालयमा बुझाउनुपर्ने

काठमाडौं महानगरको घर बहाल निर्देशिका : तीन लाखलाई करको दायरामा ल्याउने तयारी

blog

काठमाडौं,फागुन १७ गते । काठमाडौं महानगरपालिकाले घर बहाल करलाई व्यवस्थित बनाउनका लागि नयाँ निर्देशिका घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांश व्यक्तिले घरबहालमा लगाए बापत तिर्नुपर्ने कर नतिरेको गुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि नयाँ कार्यविधि बनाइएको काठमाडौं महानगर राजश्व व्यवस्थापन महाशाखाका सहायक निर्देशक प्रदीप कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो निर्देशिका जारी भएपछि बहालमा बस्ने र घर बहाल दिने दुवैलाई सहजता हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “काठमाडौंमा धेरै घर बहालमा जाने गरेका छन् । तर बहालमा गएजति घरबेटीले नबताउने गरेका कारण यो घरबहाल करको नयाँ निर्देशिका जारी गरिएको हो ।”

उहाँका अनुसार यसअघि घरबहाल सम्बन्धी कानुनी समस्या पर्ने गरेको तर कुनै कानुन नै नभएकाले सल्ट्याउन समस्या भएकाले यो निर्देशिका जारी गर्नुपरेको हो । 

कोइरालाले भन्नुभयो, “घरबहाल सम्बन्धी कानुनी समस्या हुने गरेको छ । तर कुनै वैधानिक बाटो नहुँदा के का आधारमा टुङ्गो लगाउने भन्ने नै समस्या भइरहेको थियो । यो निर्देशिका जारी भएपछि समस्या आइलागे समाधान हुन्छ।” यो निर्देशिका जारी भएपछि राजस्व सङ्कलनमा वृद्धि हुने उहाँको भनाइ छ । गत आर्थिक वर्ष २०७८/७९ मा मात्र महानगरले घरबहाल करमार्फत दुई अर्ब हाराहारीमा राजस्व सङ्कलन गरेको थियो । 

अब नयाँ निर्देशिका आएपछि राजस्व सङ्कलन पनि बढ्ने उहाँको भनाइ छ । घर बहाल कर निर्देशिका, २०७९ अनुसार घर बहालमा दिने व्यक्तिले सम्झनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा डेरावालासँग गरिएको सम्झौता हो । 

कोइरालाले भन्नुभयो, “अबदेखि घर बहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्छ। भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक–एक प्रति राख्ने छन् भने एक प्रति सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ ।” पछि घर खाली हुँदा पनि घरधनीले घर खाली भएको सात दिनभित्र वडा कार्यालयमा जानकारी दिनुपर्छ ।

यसरी जानकारी दिएपछि वडा कार्यालयले घर खाली भएको मितिदेखि कर नलगाउने उहाँको भनाइ छ । घर बहालमा लिने–दिनेको नाम थर, ठेगाना, नागरिकता नम्बर, परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्नेछ। घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादर लगायत विवरण पनि सम्झौतामा खुलाउनु पर्नेछ ।

यो निर्देशिका प्रारम्भ हुनु अगावै घर बहालमा दिएका व्यक्तिले यो निर्देशिका जारी भएको मितिले नब्बे दिनभित्र यस निर्देशिका बमोजिम महानगरपालि  काले तोकेको ढाँचामा घर बहालसम्बन्धी विवरण सम्बन्धित वडा कार्यालयमा अनिवार्य पेस गर्न आग्रह गरेको छ । 

यस्तै हाल घरबहालमा रहेका घरको विवरण पनि नब्बे दिनभित्र वडा कार्यालयमा दिन महानगरले फागुन ५ गते सूचना निकालेर आग्रह गरेको छ । 

कोइरालाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा घर बहाल कर तिर्नेको सङ्ख्या जम्मा तीन हजार ९ सय थियो। आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या बढेर ९ हजार पुगेको छ । यसबाट पनि कर छली भइरहेको छर्लङ्ग देखिने उहाँको भनाइ छ । 

यो वर्षमा करिब तीन लाख जनालाई करको दायरामा ल्याउने योजना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार कर बुझाउनका लागि महानगरपालिकाको कार्यालयमा नै पुग्नुपर्ने हुँदैन । सम्बन्धित वडा कार्यालयमा नै कर तिर्न सकिने उहाँको भनाइ छ । यस्तै घर खाली भएको सूचना सात दिनभित्र वडा कार्यालयमा दिए वडा कार्यालयले जानकारी गराएको सूचना अनुसार कर नलाग्ने व्यवस्था छ । 

काठमाडौंं महानगरले घर बहाल बापत १० प्रतिशत कर लगाउने गरेको छ । महानगरले घरबहालमा व्यक्तिगत र संस्थागत छुट्टाछुट्टै करको व्यवस्था भने गरेको छैन । महानगरले  घर बहालमा लगाउँदा पानी, शौचालय, बिजुलीका साथै घरबहालमा बस्ने मानिसको सुरक्षा, शान्ति सुव्यवस्था र सम्मानजनक व्यवहार पनि गर्नुपर्ने उल्लेख रहेको कोइरालाको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।